ज्ञानपुञ्जको मध्यस्थतासम्बन्धी तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ व्यावसायिक (कर्पोरेट) क्षेत्रका मुद्दाहरुलाई मध्यस्थताका माध्यमबाट समाधान गर्न बल पुगोस् भन्ने हेतु काठमाडौंमा मध्यस्थतासम्बन्धी तालिम संचालनमा रहेको छ । पाँच दिनसम्म संचालन हुने तालिमबाट भोलि शनिबार ७२ जना मध्यस्थको रुपमा रुपान्तरित हुने स्थिति आएको हो ।
नेपाल मध्यस्थता परिषद (नेप्का) र ज्ञानपुञ्ज स्कूल अफ लिडरशीप प्रा.लि.को आयोजनामा उक्त तालिम संचालन भएको हो । बुधबारबाट संचालित उक्त तालिम काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा संचालित रहेको छ । तालिममा सहभागीहरुले भोलि शनिबार मध्यस्थको प्रमाणपत्र प्राप्त गरेपछि मध्यस्थको रुपमा भूमिका निर्वाह गर्न पाउने ज्ञानपुञ्जका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिएका छन् ।
विकास, निर्माण, औद्योगिक, व्यापारिक तथा अन्य प्रकृतिका राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका विवादहरु वैकल्पिक विवादका उपायका माध्यमबाट गर्दा उचित हुने सोंचका साथ मध्यस्थको व्यवस्था गरिँदै आएको छ । त्यस्ता विवादहरुलाई अदालतमा प्रवेश नगराई वैकल्पिक उपायहरुको व्यवस्था मिलाई टुंगोमा पु¥याउँदा त्यसले छोटो समयमा सही समाधान दिने उद्देश्यका साथ परिषदको गठन गरिएको हो । उक्त परिषदको पाठ्यक्रम अनुसार तालिम लिने योग्य व्यक्तिहरु मध्यस्थको रुपमा कार्य गर्न पाउने बताइएको छ ।
मंगलबार उक्त तालिमको उद्घाटन महान्यायाधीवक्ता केशव बडालले गर्दै अदालतमा मुद्दाको चाप घटाउनका लागि ‘विवाद समाधानका वैकल्पिक उपायहरु’ को खोजीलाई तीव्रता दिइनुपर्ने धारणा राखे । उनका अनुसार मेलमिलापकर्ता, मध्यस्थ आदिको भूमिका जनस्तरसम्म पुग्न सकेका खण्डमा अदालतमा मुद्दाको चाप घट्ने स्थिति आउने देखिन्छ । यसैगरी कतिपय निजी क्षेत्रका विवाद तथा समस्याहरुको निराकरण यस्ता वैकल्पिक उपायहरुबाट हुन सक्ने धारणा वडालको रहेको छ ।
उनले मन्तव्य राख्दै मध्यस्थ तथा मध्यस्थताका विषयमा कतिपय सैद्धान्तिक त्रुटी देखिएकाले तिनलाई सच्याएर अघि बढ्नपर्ने धारणा राखे । विश्वका अन्य देशहरुमा मध्यस्थको कारण विवादहरुको समाधान भैरहेको अवस्थाको उदाहरण दिंदै उनले भने, ‘नेपालमा पनि त्यसको सिको गर्नु जरुरी छ । यसका लागि कतिपय कुरामा सुधार गरी प्रभावकारी हुने खालको ऐन, कानून बनाइनुपर्छ ।’
ज्ञानपुञ्जका अध्यक्ष हरिप्रसाद डुम्रेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनालले शुभकामना मन्तव्य राखेकी थिइन् । उनले आफूले मेलमिलापकर्ता र मध्यस्थको तालिम धेरै अघि लिएर पनि त्यसलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन नसकेको भन्दै दुखेसो व्यक्त गरिन् । उनले आफ्नो कार्य व्यस्तताका कारण त्यसो हुन गएको स्पष्ट पार्दै तालिममा सहभागीहरुले आफूलाई व्यवहारमा उतार्न सकेमा त्यसले मुद्दाको चाप कम गर्न सहयोग पु¥याउने धारणा राखिन् ।
यसैगरी नेप्कामा आवद्ध वरिष्ठ अधिवक्ता गान्धी पण्डितले आफू अमेरिकामा पढेर नेपाल फर्किदा आफूबाट नेपालीजनले ठूलो आशा गरेको स्मरण गरे । उनले मध्यस्थको भूमिका अन्तर्राष्ट्रियस्तरमा निकै नै फलदायी भएको भन्दै नेपालमा पनि केही कमी कमजोरीहरुलाई हटाउन सकेमा यसको नतिजा उल्लेख्य हुने धारणा राखे ।
नेप्काका महासचिव बाबुराम दाहालले तालिमले मानिसलाई सक्षम बनाउने तथा त्यसको माध्यमबाट आफूलाई खारेर लान सकिने धारणा राखे । उनले नेप्का औचित्य झल्काउँदै भोलिका दिनमा यसको प्रभावकारिता बढाउन ऐन, कानूनमा परिमार्जन गरी कर्पोरेट क्षेत्रका विवादहरुलाई वैकल्पिक उपायका माध्यमबाट नै समाधान गरिनुपर्ने धारणा राखे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *