सहकारी प्रकरणले दलहरुमा समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सहकारी प्रकरणले सबै दलहरुमा समस्या पार्न थालेको छ । देशभरी खुलेका सहकारीहरुमध्ये केही सहकारीहरुले बद्मासी गरिदिंदा सहकारी अहिले त्रास बन्दै गएको छ । सहकारीमा जोडिने व्यक्तिहरु कुनै न कुनै दलमा आवद्ध हुने भएका कारण व्यक्तिको गल्तीलाई दलसँग जोडेर हेर्न थालिएको छ । दलहरुमा आवद्ध व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थमा परी सहकारीको रकम दुरुपयोग गर्दा कहिले कुन दल त कहिले कुन दल बद्नाम बन्दै गएका छन् ।
सहकारीको बद्नामीको मारमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परेको छ । मुलुकको मुहार फेर्ने तथा सुशासनका कुराहरु गर्दै कुर्लने रास्वपाका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषय अहिले बढी चर्चामा छ । उनको कर्मलाई ठगी काण्डका रुपमा व्याख्या गरिंँदै आइएको अवस्थामा सो प्रकरणमा संसदीय छानविन समिति नै बनेको थियो । उक्त समितिले दिएको प्रतिवेदनलाई लिएर झनै अन्यौलको अवस्था आएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले उनीमाथि कारबाही सिफारिस गर्न सरकारलाई सुझाव दिएको बताएका छन् । उता, लामिछाने र उनका दलका नेताहरु भने उनले ‘क्लिन चिट’ पाएको भनी अपव्याख्या गर्दै हिंडेको अवस्था छ ।
सोही कारण लामिछाने निकै तनाबमा परेका बताइएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले छानविन समितिले बुझाएको प्रतिवेदनपछि असन्तुलित अभिव्यक्तिहरू दिइरहेका बताइएको छ । समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तात्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको बताइएको छ ।
कारबाही सिफारिसलाई लामिछानेले बङ्ग्याएर आफ्नो बचाउन गर्न थालेका बताइन्छ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. को खातामा आएको कुरा समितिले प्रष्ट बनाएको छ । उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको भनी लामिछानेलाई दोषी बनाइएको बताइएको छ । सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) र सदस्य कुमार रम्तेल तथा तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा भएका कार्यहरुमा उनीहरुको जिम्मेदारी रहने बताइएको छ ।
उनीहरु सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने कुरा छानविन प्रतिवेदनमा उल्लेख छ । रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राईसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको अवस्थामा लामिछानेले ‘क्लिन चिट’ पाएको भनी अपव्याख्या गरेको दाबी गरिएको छ ।
प्रतिवेदनको सुझाव खण्डमा राईसहित थानबहादुर बुढा मगर सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर के.सी. सुप्रिम बुटवल, तस्वीर खातुन सानो पाइला वीरगञ्ज र भूपेन्द्र राई स्वर्णलक्ष्मी काठमाडौंलाई शीघ्र खोजी गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने उल्लेख छ ।
उता, सत्तारुढ दलका सांसद एवम् नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगी काण्डमा जोडिएको समाचार आएको छ । उनकी पत्नी संचालक समितिमा रहेको एउटा सहकारीको रकम अपचलनको विषय पछिल्लो समयमा आएको छ । मोरङमा रहेको उक्त सहकारीको रकम अपचलन प्रकरणमा पोखरेलको सम्पत्ति जफत हुनसक्ने कानूनी व्यवस्था रहेको भनी जानकारी आएपछि नेकपा (एमाले) लाई यो प्रकरणमा जोडेर हेर्न थालिएको छ ।
त्यसो त सत्तारुढ दलहरुमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङलाई पनि सहकारी प्रकरणले मज्जैले छोएको छ । उनकी पूर्वपत्नी ललितपुरको एक सहकारी प्रकरणको रकम अपचलन प्रकरणमा परेकी हुन् । पत्नीले रकम अपचलन गरेको अवस्थामा उनीहरुले सम्बन्धविच्छेद गरी जोगिने प्रयास गरेको भनी सांसद गुरुङमाथि आरोप लाग्दै आएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गीता बस्नेत पनि सहकारीको रकम अपचलन प्रकरणमा परी फरार अवस्था रहेकी छिन् । विभिन्न जिल्लामा रहेका तथा रकम अपचलन भएका भनिएका सहकारीहरुमा सबैजसो दलका नेताहरु जोडिएका कारण यो प्रकरण कसरी जाला भनी सर्वसाधारणमा चासो छाएको छ । सबैजसो दलका नेताहरु पर्ने अवस्थामा कसैलाई कारबाही नगरी यो विषय नै विषयान्तर गराइने त होइन भनी चर्चा चल्न पनि थालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *