सम्पादकीय
नेपालको सबैभन्दा ठूलो र हालको सत्तारुढ दल नेपाली कांग्रेस हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको मूल राजनीतिको मियो यही दलको वरिपरि घुम्ने गरेको छ । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यका लागि नेतृत्व गरेको भएर पनि होला यो दललाई नेपालको प्रमुख लोकतान्त्रिक दल मानिन्छ । सोही कारण मतदाताले कांग्रेसका कि प्रमुख दल कि त प्रमुख प्रतिपक्षी दलको रुपमा निर्वाचित गराउँदै आएका छन् । कांग्रेसले पनि आफ्नो लोकतान्त्रिक चरित्रलाई कायम राखेर अन्य दलहरुलाई समेत सोही धारमा ल्याउने कार्य गर्दै आएको छ । कांग्रेसले लिएको सिद्धान्त अर्थात बहुदलीय लोकतान्त्रिक व्यवस्था विश्वव्यापी रुपमा स्थापित भएका कारण पनि नेपालमा कांग्रेसले सोही धारको नेतृत्व गर्दै आएको छ । अहिलेको सत्ता राजनीतिलाई हेर्ने हो भने कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बनेर पनि दोस्रो ठूलो दलसँग सत्ता साझेदारी गरेर बसेको छ । संविधान संशोधनको नारासहित कांग्रेसले दोस्रो ठूलो दल नेकपा (एमाले) लाई सरकारको नेतृत्व दिएर पनि कम्युनिष्ट भनाउँदाहरुको एकछत्र राज भएको अघिल्लो सरकारलाई विस्थापित गराउन सफल भएको छ । कांग्रेस मिसिएको मात्र भए पनि विश्वव्यापी रुपमा लोकतान्त्रिक छविको सरकार भन्ने मान्यता स्थापित हुने अवस्थालाई कायम राख्न अरुको नेतृत्वलाई स्वीकारेर पनि कांग्रेस सरकारमा सामेल भएको छ ।
यसरी सत्ता र सरकारको वरिपरि फन्को लगाइरहेको कांग्रेस भित्र विभिन्न व्यक्तिहरुको स्वार्थी समूह पनि क्रियाशील देखिन्छ । हुन त लोकतन्त्रमा आफू वा आफ्नो नीति स्थापित गराउनका लागि नेताहरुले आफ्नो अनुकुलको समूह निर्माण गर्ने कार्यलाई सामान्य नै मान्ने गरिन्छ । कांग्रेस भित्र पनि विभिन्न नेताहरुले आफ्ना निकटका व्यक्तिहरुलाई एक ठाउँमा राखी विभिन्न समूहहरु बनाएका छन् । यसमा केही व्यक्तिहरुले आफ्नो समूहलाई अघि सार्दै आगामी महाधिवेशनमा नेतृत्व हत्याउनका लागि प्रयोग गर्दै आएका छन् । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा छन् । उनी समग्र कांग्रेसको सभापति भएको अवस्थामा पनि उनले सभापति बन्नुभन्दा पहिले आफ्नो अनुकुलको समूहलाई क्रियाशील बनाउने गरेकाले उनले अहिले पनि उक्त समूहलाई चलायमान राखेको आरोप खेप्दै आउनु परेको छ । यसैगरी अघिल्लो पटक सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी लगायतले आफ्नो अनुकुलको समूहलाई अहिले पनि क्रियाशील राखेको अवस्था छ । यसैगरी कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा लगायतले पनि आफ्नो अस्थित्व देखिने गरी समूह बनाएर हिंडेको अवस्था छ । यसैगरी विजयकुमार गच्छदारले पनि आफ्नो समूहलाई स्थापित गराउने प्रयास जारी राखेको अवस्था छ ।
यसरी आफ्नो अनुकुलको वातावरण बनाउने नाममा विभिन्न नेताहरुले समूह बनाउनुलाई लोकतान्त्रिक चरित्र नै मानिने गरिए पनि कतिपय अवस्थामा यो हानिकारक देखिन्छ । स्थानीय वा संसदीय निर्वाचनको मुखमा आएर हुने गरेका महाधिवेशन वा जिल्ला वा प्रदेश अधिवेशनका बेलामा विभिन्न समूहमा विभाजित भै नेतृत्व हत्याउने प्रयासमा लाग्ने गर्दा पराजित हुने र विजयी हुनेका बीचमा मनमुटाव कायम रहन्छ । यस्तो अवस्थामा त्यो मनमुटावको असर लगत्तैको निर्वाचनमा पर्ने गर्दछ । त्यसैले कांग्रेसजनले यो समूहगत स्वार्थबाट आफूलाई मुक्त गर्न सक्नु उनीहरु, कांग्रेस र मुलुकका लागि पनि हितकर हुने देखिन्छ । व्यक्तिभन्दा दल माथि रहन्छ । यसैगरी दलभन्दा माथि मुलुक रहन्छ भन्ने कुरालाई ख्याल गरी सबैले पदका लागि मात्र राजनीति नगरी देश र जनताका लागि राजनीति गरेका खण्डमा मात्र त्यसले दीर्घकालिन रुपमा सही योगदान दिने देखिन्छ । आपूm वा आफूलाई केन्द्रमा राखेर मात्र राजनीति गर्नका लागि विभिन्न समूहहरु जन्माउँदा त्यसले समग्रमा दललाई भने हानी गर्दछ । यो कुरा सबैले समयमै बुझ्नु आवश्यक छ ।