सम्पादकीय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) ले सो दलका नेता भीमबहादुर रावललाई दलबाटै निष्कासन गरेको छ । रावल सो दलको उपाध्यक्ष भैसकेका नेता हुन् । उनले दलको निर्णयहरु विपरित चलेको आरोप लगाउँदै उनलाई विना स्पष्टिकरण दलले हटाउने निर्णय गरेको हो । उनीसँगै महिला नेतृहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई पनि छ महिनाकालागि निलम्वन गर्ने निर्णय एमालेले गरेको छ । उनीहरुमाथि लागेको आरोप पनि सामान्य छ । रावलले एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका विरुद्धमा आफूलाई उतार्ने कार्य गरेका थिए । एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर बनेको तात्कालिन नेपाल कम्युनिष्ट पार्टी हुँदाका बखत रावलले ओलीलाई साथ दिएका थिएनन् । रावलसहितसँग रुष्ट रहेका नेतानेतृहरु पछि एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनाउँदा रावल भने उता गएनन् । एमालेमै रहे पनि अध्यक्ष ओलीका गलत कार्य तथा कार्यशैलीहरुको रावलले विरोध गरी नै रहे । उनी त्यतिमा मात्र सीमित भएनन् कि पछिल्लो महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी नै दिए । ओलीले विभाजनबाट बनेको दलमा गएकाहरु आफ्ना विरोधी ठानिरहेका बखतमा आफ्नो दलमा रहनेहरु आफूले भनेको मान्नेहरुमात्र हुनुपर्ने मान्यता बोक्दै आएका थिए । उक्त महाधिवेशनमा ओलीको चाहना सर्वसम्मत अध्यक्ष बन्ने थियो । त्यसमा रावलले अवरोध गरेका थिए । निर्वाचन हारिने शतप्रतिशत जानकारी हुँदाहुँदै पनि रावलले ओलीलाई सर्वसम्मत हुन दिएनन् । उनले ओलीविरुद्ध उम्मेदवारी दिए । निर्वाचनमा २२३ मत प्राप्त गरी ओलीलाई सर्वसम्मत हुन दिएनन् । उता, नेतृहरु पाण्डे र तिम्सेनाले भने एमालेको भवन निर्माणका लागि विवादास्पद व्यापारी मीनबहादुर गुरुङले जग्गा र भवन दान दिने भन्ने विषय थियो । त्यसरी विवादास्पद व्यापारीबाट दलको भवन बनाउन दान लिनु हुन्न भन्ने मान्यता उनीहरुको थियो । त्यसलाई पनि एमालेको नेतृत्व खासगरी ओली र उनका वरिपरिको झुण्डले पचाउन सकेन । उनीहरुमाथि पनि कारबाहीको डण्डा बर्साउने कार्य हुन गयो ।
रावल एमालेभित्र रहँदा स्पष्टवक्ता नेताका रुपमा चिनिदैं आएका थिए । उनी उपप्रधानमन्त्री तथा दलको निर्वाचित उपाध्यक्ष भैसकेका व्यक्ति थिए । यसैगरी सुदूरपश्चिम र कर्णालीमा उनी लोकप्रीय नेताका रुपमा पनि रहँदै आएका थिए । नेकपा हुँदाका बखत ओलीले दुई दुई पटक गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा खरो रुपमा उत्रिएका थिए । ओलीसँग खुलेर विरोधमा उत्रने आँट गर्ने रावलले दल विभाजित हुँदा एमालेमै रहे । उनीहरु एमालेमा रहने बेलामा विभिन्न सहमतिहरु गरिए पनि त्यसलाई धोती लगाउने कार्य अध्यक्ष ओलीले पटक पटक गरिरहे । त्यसको पालना हुनुको साटो एमालेमा रहेका ओलीका विरोधी भनिनेहरुलाई ओलीले साटो फेर्ने कार्य गरी रहेका छन् । आफू विरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावललाई अछाममा प्रतिनिधिसभाको उम्मेदवार समेत बनाएनन् । रावलको सट्टामा अरुलाई उम्मेदवारी दिएका कारण अछाममा एमाले पराजित भयो । त्यो अवस्था आउने जान्दाजान्दै पनि ओलीले रावललाई स्थापित गर्नुभन्दा विस्थापित गर्नु नै उचित ठाने । त्यसपछि पनि रावलको बोलीमा लगाम लगाउने प्रयास भैरह्यो । रावललाई उचित स्थान दिइनुपर्छ र दिइएमा एमालेलाई फाइदा नै हुन्छ भन्ने मान्यता एमालेमा रहे पनि ओलीले उनलाई आफ्ना सत्रु भैmं ठानिरहे । रावललाई वञ्चित गरिरहे ।
एमालेले लिने गलत कार्य वा ओलीले गर्ने गलत शैलीको रावलले विरोध गरिरहे । आफ्नो विरुद्धमा कसैलाई बोल्न नदिने सामन्ती र तानाशाही प्रवृत्ति देखाउने ओलीले रावलको विरोध त आफ्नो भक्तिगान नगर्नेहरुलाई अवसरबाट वञ्चित गर्ने कार्यलाई प्राथमिकतामा राखे । एमालेमा रहने हो भने ओलीले जे भने पनि मान्नुपर्ने जे गरे पनि सही हो भनी भजन गाउनुपर्ने मान्यतामा ओली रहेका छन् । नेतृत्वको यस्तो फासिष्ट र तानाशाही व्यवहारको विरुद्धमा उत्रने आँट गर्दा रावल, पाण्डे र तिम्सेना कारबाहीको डण्डा व्यहोर्न बाध्य भएका छन् । यो गलत शैली हो । प्रजातन्त्र वा लोकतन्त्रमा आफ्नो विचार राख्ने छुट सबैलाई हुन्छ र हुनुपर्छ । यसैगरी गलत लागेमा अभिव्यक्ति गर्ने स्वतन्त्रता सबैमा हुनुपर्छ । कसैको गलत कार्यको विरोध गरेकै आधारमा दलबाट गलहत्याइने प्रवृत्ति कुनै हालतमा पनि सही होइन । एमालेजस्तो मुलुक हाँकी रहेको दलमा यो कार्य कदापी शोभनीय मानिँदैन । त्यसैले यस्ता कार्य नेतृत्व पंक्तिबाट भएमा त्यसको विरुद्धमा उत्रिने आँट अरु नेताहरुले पनि गर्नुपर्छ । होइन भने रावल, पाण्डे र तिम्सेनालाई खाने बाघले अरुलाई पनि खान सक्छ । अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको गहना हो । यो कुरालाई सबैले मान्नुपर्छ र त्यसलाई व्यवहारमा देखाउन सक्नुपर्छ । सत्ता संचालनमा रहेको एमालेको नेतृत्वले गरेको यो कार्य निन्दनीय हो ।