सुशासन र सुरक्षाको जिम्मा थापाको काँधमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रहरी महानिरीक्षक वसन्त कुँवर सेवानिवृत्त हुन आठ घण्टा अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा एआईजी दीपक थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषदको चैत्र ४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
३० औं आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण चैत्र ४ गते राति १२ बजेपछि अवकाश भएका छन् । नेपाल प्रहरीको प्रमुख बन्नका लागि थापासँग एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ्ग प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) को नेतृत्व गरिरहेका थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ्ग उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए । प्रतिस्पर्धामा रहेका तीनैजना आकांक्षीहरुले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास र लबिङ्ग गरे पनि सरकारले पहिलो वरियतामा रहेका थापालाई आईजीपी बनाएको छ ।
हाल संसदमा दर्ता गरिएको प्रहरी ऐन पारित नभए थापाले ६ महिनापछि अवकाश पाउने छन् भने प्रहरी विधेयक पारित भए थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउने छन् । स्थायी शिक्षकबाट राजीनामा दिएर २०५२ साल भदौ १९ गते इन्स्पेक्टर बनेका थापा २०६३ भदौ ८ गते डीएसपी, २०७२ श्रावण र ८ गते एसपी, २०७५ फागुन ६ गते एसपी २०७९ असार १७ गते डीआईजी, २०७९ चैत्र ६ गते एआईजी र २०८१ चैत्र ४ गते आईजीपी बनेका हुन् ।
नेपाल प्रहरीको अस्तव्यस्त संगठनलाई सुदृढ गरी जनतामा प्रहरीप्रति बढेको वितृष्णा र सबैलाई न्यायको प्रत्याभूति दिलाउनुपर्ने चुनौती थापाको काँधमा आएको छ । शान्तिसुरक्षा र सुशासन तथा प्रहरी भित्रका बेथिति र विकृतिलाई पनि अन्त्य गर्नुपर्ने गहन जिम्मेवारी नवनियुक्त आईजीपी थापाको काँधमा आएको छ । आईजीपी थापामाथि लाग्दै आएको एमालेप्रतिको निकटतालाई तोडी सबैलाई समान व्यवहार गर्नुपर्ने, बलात्कार, गुण्डा गर्दी र शान्तिसुरक्षाप्रति निर्मम बन्दै अगाडि बढ्नुपर्ने अर्काे पेचिलो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन् त्यो समयले बताउने जानकारहरुले बताएका छन् ।
प्रहरी प्रमुखले राजनीतिक दलको गोटी बन्नुभन्दा देश र जनताको सेवामा समर्पण हुन सक्नुपर्ने समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *