मन्त्रीहरुका कारण राजनीतिमा तरङ्ग : माओवादी संकटमा देउवा दोधारमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर /नेपालको राजनीतिमा विभिन्न किसिमका तरङ्गहरु आइरहने अवस्थामा पछिल्लो समयमा मन्त्रीहरुका कारण झनै ठूलो तरङ्ग आएको छ । पछिल्लो समय अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा गर्नुपर्ने अवस्था आयो । बजेट निर्माणका क्रममा मन्त्रालयमा अवांछित व्यक्तिहरुलाई प्रवेश गराई बजेट भाषणको अघिल्लो दिन करको दरमा चलखेल गरेको आरोप लागेका शर्माले बुधबार राजीनामा गर्नुपर्ने अवस्था आयो । उनी निर्वाचित दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पक्षमा पारी पदमा टिकिरहने मनसुवा बनाएका शर्माले चर्को आलोचना र विरोधलाई खेप्न सकेनन् । मंगलबारसम्म राजीनामा गर्ने कुनै संभावना नदेखेका शर्माका विषयलाई लिएर प्रतिनिधिसभाले छानविन कार्यदल गठन गर्ने निर्णय गर्नासाथ उनले राजीनामा दिएका हुन् । उनले आफूले छानविन कार्यदललाई काम गर्न सहज होस् भनेर राजीनामा गरेको भनी प्रतिनिधिसभाको बैठकमा बताए पनि त्यो लाज छोप्ने कपडामात्र रहेको भनी भन्न थालिएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक चलिरहेको अवस्थामा शर्माको काण्ड चर्किएको थियो । सर्वसाधारण जनताले समेत उनको कार्यको विरोध गर्न थालेका थिए । मन्त्री रहेका शर्माको मन्त्रालयमा उक्त दिन के भएको थियो भनी जानकारी पाउनका लागि भनी सिसि क्यामेराको अभिलेख मागिएको थियो । त्यो अभिलेख उपलब्ध गराउनुको साटो अर्थमन्त्रालयले १३ दिनमा अभिलेख आफैं मेटिने भनी जबाफ दिएपछि त्यसको चौतर्फी आलोचना हुनपुग्यो । त्यसरी सिसि क्यामेराको अभिलेख कम्तीमा तीन महिनासम्म सुरक्षित रहनुपर्ने भन्ने कानूनी व्यवस्था विपरित मन्त्रालयले जबाफ दिएपछि त्यसको विरुद्धमा सडकमा समेत आन्दोलन भएको थियो ।
अर्थमन्त्रीको राजीनामा तथा हर्कतका कारण माओवादी केन्द्र समस्यामा परेको छ । माओवादी केन्द्रको केन्द्रीय बैठक चलिरहेको अवस्थामा महासचिवका समेत दाबेदार मानिएका शर्मा विवादित बनेका कारण माओवादीलाई समेत त्यसले नराम्रो असर पारेको छ ।
उता, बैठकमा माओवादीका कतिपय नेताहरुले भने जनार्दन शर्माको विषयलाई लिएर आवाज उठाएका थिए । उनीहरुले उनको विकल्पमा नयाँ मन्त्री तोकिनुपर्ने आवाज उठाएका छन् । शर्मा मन्त्रीबाट हट्नुपरेकाले रिसाएको अवस्थामा रहेको भनी उनलाई सान्त्वना दिनका लागि छानबिनबाट जे निष्कर्ष आउँछ सोही अनुसार गरिनु उचित हुने भने माओवादी केन्द्रका नेताहरुले धारणा राखेका छन् । शर्माले आफू निर्दोष रहेको दाबी गर्दै आएको अवस्थामा उनले भनेको कुरा सही साबित भएका खण्डमा उनैलाई पुनः मन्त्री बनाउन सकिने भनी माओवादी केन्द्रका नेताहरुले भन्ने गरेका छन् ।
उता, सत्तारुढ दलहरुमा मन्त्रीहरुको कारण तरङ्ग उत्पन्न हुने कार्य भैरहेकै छ । माओवादी केन्द्रमा पनि शर्माको सट्टामा को मन्त्री बन्ने भन्ने दौड शुरु भएको छ । माओवादीका नेताहरु वर्षमान पुन, देवप्रसाद गुरुङले मन्त्री बन्नका लागि प्रयास गरिरहेका छन् । यसैगरी अर्थमन्त्रालय माओवादी दिंदा समस्या परेको तथा मुलुकको आर्थिक अवस्था नै दयनीय बनेको भन्दै यो मन्त्रालय नेपाली कांग्रेसले लिनुपर्ने कुरा पनि उठेको छ ।
कांग्रेसले अर्थ मन्त्रालय लिएको खण्डमा सो मन्त्रालयको जिम्मेदारी कसले लिने भनी कुरा उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने कांंग्रेसबाट मन्त्री परिवर्तन गर्ने पक्षमा छैनन् । माओवादीबाट अर्थ मन्त्रालय लिनुपर्ने अवस्थामा कांग्रेसबाट हालका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउने संभावना रहेको छ । यदि माओवादी केन्द्रले परराष्ट्र मन्त्रालय मागेका खण्डमा हालका परराष्ट्रमन्त्री नारायण खड्कालाई अर्थमन्त्री बनाउने विकल्पमा देउवा रहेको पनि समाचार स्रोतले दाबी गरेको छ । उता, अर्थमन्त्रीमा अर्थक्षेत्रको राम्रो विज्ञलाई मन्त्री बनाएर मुलुकको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउनुपर्ने कुरा पनि उठिरहेको छ ।
मन्त्रीबाट शर्माले राजीनामा गर्नुपूर्व जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्ना तीनजना मन्त्रीहरुलाई परिवर्तन गरेकाले मन्त्रीकै विषयलाई लिएर जसपामा पनि विवाद कायमै छ । जसपाबाट मन्त्रीबाट हटेकी रेणुकुमारी यादव पछिल्लो समय आफ्नो दल नै त्याग्ने मनस्थितिमा पुगेकी छिन् । उनको आक्रोश जसपाबाट मन्त्री बनाइएका चारजनामध्ये एक जना अर्थात राजेन्द्र श्रेष्ठलाई कायम राखिएकोमा हो । कि सबैलाई हटाइनुपथ्र्यो कि आफ्नो सट्टामा मन्त्री बनाइएका मन्त्रीमा महिलालाई बनाइनुपथ्र्यो भन्ने रहेको यादवले बताउने गरेकी छिन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) मा भएको मन्त्री परिवर्तनको असर अझै बाँकी रहेको छ । हटेका मन्त्रीहरुले कस्तो कदम चाल्ने हुन् भनी एकीकृत समाजवादीको नेतृत्व सशंकित अवस्थामा रहेको बताइन्छ । मन्त्री बन्नकै लागि एमाले त्यागेर सो दलमा अन्तिम अवस्थामा आइपुगेका किसान श्रेष्ठ र प्रेमबहादुर आलेले कुनै पनि बेला आफ्नो दल त्याग्न सक्ने भयमा नेतृत्व तह रहेको बताइएको छ ।
उता, प्रधानमन्त्री देउवा पछिल्लो समय दोधारमा परेका छन् । आफ्नो नेतृत्वमा रहेको सरकारको संचालन पनि सही रुपमा हुन नसकेको चिन्ता एकातिर छ भने अर्कातिर आफ्नो दल भित्रको किचलो रहेको छ । सरकारमा रहेका मन्त्रीहरु नै विवादमा तानिने, मन्त्रीका लागि मरिहत्ते गर्ने प्रवृत्तिले हैरान रहेका देउवाका लागि कांग्रेस भित्रको समस्याले झनै समस्यामा पारिदिने गरेको बताइन्छ । देउवाको कार्यशैलीलाई लिएर कांग्रेसकै नेता शेखर कोइरालाले भेलाहरु गर्न थालेको अवस्थामा देउवा तनावमा रहेका बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *