सांसद बन्न नपाउनेमा को को पर्लान् ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
प्रतिनिधि सभाको पाँच वर्ष कार्यकाल समाप्त भइसकेको छ । कतिपय सांसद्का लागि संसद् छिर्ने यो अन्तिम पटक हो । नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, पम्फा भुसालको पनि रोष्टममा बोल्ने मौका सिद्धिएको अनुमान लगाउन थालिएको छ । पार्टीले टिकट दिए पनि जनताको मत पाउन यी नेताका लागि अत्यन्तै कठिनाइ छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि पनि संसद्को ढोका थुनिएको अड्कलबाजी गरिएको छ । पाँच वर्षमा लिङ्देन १५ चोटि पनि संसद् उपस्थित भएनन् । तलबभत्ता खाने, सेवासुविधा लिने अनि एनजिओको झोले बनेर हिँड्नेलाई संसद्बाट सधैंका लागि बिदा गरिनेछ । यता, मधेशी दलका नेता राजेन्द्र महतोको पनि उही हाल छ ।
आउने चुनावमा उपेन्द्र यादवले राम्रो हार व्यहोर्ने निश्चित छ । उनको पनि संसद्मा उभिने दिन सकियो । नेकपा (एकीकृत समाजवादी) का नेताहरु सबै पुष्पकमल दाहालको पछिपछि हिँडिरहेका छन् । झलनाथ खनाल, माधवकुमार नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठले त राजनीतिबाट सन्यास लिए हुन्छ । यता, नेपाली कांग्रेसका गगनकुमार थापा, मीनबहादुर विश्वकर्मा र विश्वप्रकाश शर्माले पनि चुनावी नतिजा कस्तो आउला भनी राजनीतिकवृत्तमा चर्चा चलेको छ ।
नेकपा एमालेबाट खड्गप्रसाद शर्मा ओली, महेश बस्नेत, शंकर पोखरेल, योगेश भट्टराई र गोकुल बाँस्कोटाको पनि संसद्मा छिर्ने दिनको अन्त्य भएको बुझ्न सकिन्छ । बाबुराम भट्टराईले पनि गोरखाका जनताको विश्वास गुमाइसकेका छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठले त सदनमा छिर्ने कल्पना त्यागिदिए हुन्छ भनी भन्ने गरिएको छ ।
पाँच वर्षको अवधिमा यिनीहरुले के गरे जनताले राम्रोसँंग देखेका छन् । यसको मूल्यांकन आगामी चुनावमा जनताले गर्नेछन् । कुनै नेता जनताको कुरा उठाउँदैं रोए, कुनैले सदनमा उभिएर हानाथाप मात्र गरे । माओवादीका नेता गजेन्द्र महत आफ्नो क्षेत्रको कुरै उठाउँदैं सदनमै धुरुधुरु रोएका थिए । जुम्लाबाट चुनाव जितेर आएका उनले सरकारले आफ्नो क्षेत्रमा बजेट नहाले र विकास नभएको गुनासो गरेका हुन् ।
ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री हुँदाको कुरा हो यो । आफ्नो क्षेत्रमा बजेट नदिएपछि विकास कसरी गर्ने ? जनताको सामु कसरी मुख देखाउने ? भन्दै उनको आँखाबाट बलिन्द्र आशु झरेको थियो । संसद्मा उभिएर नेता रोएपछि ७७ जिल्लाका जनताको ध्यान खिच्यो । अरु क्षेत्रको जनताले त उनको वाहीवाही गरे नै जुम्लाका जनताले समेत गर्व गरे ।
सदनमा उभिएर यो कुरा भन्न सक्नु निकै ठूलो कुरा हो । नेता होस् त यस्तो भन्दै सबैले उनको तारिफ गरेका थिए । दाहालले एउटै व्यक्तिलाई चार चोटिसम्म मन्त्री बनाए । एउटै व्यक्ति दोहो¥याएर आइरहे । जनार्दन शर्मा चारचोटि र पम्फा भुसाल तीन चोटि मन्त्री बने । तर, गजेन्द्र महतजस्तो व्यक्तिलाई ठाउँ दिइएन् । गजेन्द्र महतले भन्दै आएको एउटै कुराः जनताले मत दिए पनि दलले टिकट दिँदैन ।
पार्टीलाई पैसा दिन सक्नेले त टिकट पाउने हुन् । उनीसँंग त पैसा छैन होला । पार्टीले टिकट दियो भने उनको जीत निश्चित छ । हरेक पार्टी पैसामा बिकेको छ । जनताले नरुचाए पनि पैसा हुनेले मात्र टिकट पाउँछन् । जनताले मन पराउने र जनताको हितमा बोल्ने व्यक्तिले टिकट नै पाउँदैनन् । टिकट नभएपछि जनताको बीचमा जाने ठाउँ नै रहेन । शीर्ष दलका नेता ओली, शेरबहादुर देउवा र दाहाललगायत अन्य सबैजना पैसामा बिकेका छन् ।
टिकट बेचेकै पैसाबाट यिनीहरु चुनावमा जान्छन् । जनताको बीमा गराउने भन्दै अरबौं रुपियाँ भ्रष्टाचार गरेका छन् । उनले त्योबाहेक अरु केही काम गरेनन् । इँटाभट्टाले प्रदूषण ग¥यो भन्दै उपत्यकाबाहिर सार्ने निर्णय गरिएको थियो । यता, मदिराको लाइसेन्ससमेत लामो समयदेखि बन्द थियो । महेश बस्नेतले उद्योगमन्त्री हुँदा इँटाभट्टा नसारेर र मदिराको लाइसेन्स खुलाएर अरबौं रुपियाँ चलखेल गरेका छन् ।
गोकुल बाँस्कोटा त खुलेआम ७० करोडको भ्रष्टाचार आरोपमा मुछिएका व्यक्ति हुन् । सूचना तथा सञ्चार मन्त्री हुँदा सामान खरिद प्रकरणमा ७० करोड रुपियाँ घुस मागेको अडियो बाहिर आएका थियो । ७७ वटा जिल्लाका जनताले तिरेको करमा ओलीले रजगज गरे । आफू प्रधानमन्त्री भएको मौका छोपेर उनले सबै बजेट झापामा लगेर भ्युटावरमा खनाए । पार्टीमा २० वर्ष लागेर जनताको काम गरेका व्यक्ति कहिले सांसद् बन्न पाएनन् । बरु, हिजोसम्म राप्रपाको झोले बनेर हिँडेकी कोमल वलीलाई मनोनित सांसद् बनाइ दिए ।
एउटा कर्मचारी स्तरबाट आएका युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । जनताबाट चुनिएर आएकालाई मन्त्री बनाइएन् । आफ्ना पार्टीका सांसद्लाई बालुवाटारमा बोलाएर अरुलाई कालो अरिगालझैं टोक्नु भन्ने पनि ओली नै हुन् । प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो बोल्न नैतिकताले दिन्छ ? प्रधानमन्त्री भएर दिनभरि बाँसुरी बजाएर बस्ने । आफ्नो जन्मदिनमा देशको नक्सा भएको केक काट्ने पनि ओली नै हुन् ।
ओलीको सरकार आउनुअघि देउवाको सरकारले मेरुदण्ड भाँच्चिएका, मुटु रोग लागेका र अन्य दीर्घकालिन रोगीलाई मासिक पाँच हजार दिने निर्णय गरेका थिए । ६८ वर्षमा भत्ता दिने भनिएको थियो । कांग्रेस हिरो हुन्छ भनेर ओलीले सबै निर्णय उल्टाइदिए । २०७४ सालको चुनावमा भोट माग्ने बेलामा ओलीले वृद्धभत्ता बढाइदिन्छु भनेका थिए । उनी लामो समय प्रधानमन्त्री हुँदा पनि बुढाबुढी र अपांगको भत्ता बढाइएन् ।
उनले आफू र आफ्नो श्रीमती मरेपछि सबै सम्पत्ति सरकारको हुने भनेका छन् । उनले कहाँको सम्पति सरकारलाई दिन लागेका हुन् यसको जवाफ आजसम्म पनि जनताले पाएका छैनन् । तेह्रथुमको हो कि झापाको ? कि बालकोट कै पो सरकारको नाममा गरिदिएका हुन् ? आफू बिरामी हुँदा उनले देश विदेश पुगेर जनताले तिरेको करोडौं खर्च गरेका छन् ।
केही दिनअघि एउटा कार्यक्रममा उनले आफूसंँग उपचार गर्ने पैसा नभएको दाबी गरेका थिए । उनले आफ्नो र आफ्नो आफन्तको नाममा २२ अर्ब रकम राखेको चर्चा चलेको छ । २०७४ सालको चुनावमा एमाले पहिलो पार्टी बनेको थियो । जनताले उनलाई पाँच वर्षका देश चलाउन जिम्मेवार दिएका थिए । उनले दुई पटक संसद विघटन गरेको आजसम्म जनताले बिर्र्सिएका छैनन् । फेरि पनि ओलीकै नेतृत्वमा चुनावमा जाने र जनताले चुनाव दिए भने ओलीलाई नै प्रधानमन्त्री बनाउने एमालेमा सहमति जुटेको छ ।
जनताले के आधारमा भोट दिने ? फेरि पनि उनलाई प्रधानमन्त्री बनाउनका लागि जनता त्यति मूर्ख छन् र ? नौं महिनासम्म संसद अवरोध ग¥यो । ओलीकै निर्देशनमा महेश बस्नेतले सांसद् अपहरण गरे । संविधान बचाउनुपर्छ भन्दै सडकमा कार्यकर्ता उत्रारेर नौटंकी देखाउन ओली अघि बढेका छन् । आफू कुन पृष्ठभूमिबाट आएको हो त ओली र बस्नेतको शब्दबाटै स्पष्ट हुन्छ ।
यिनीहरु नेता नभई गुण्डा भएको स्पष्ट छ । अहिले काठमाडौंका मेयर बालेन्द्र साहको काम देखेर सबैजना दंग छन् । काठमाडौंवासीलाई गर्व लागेको छ । बालेनको जति काम गर्ने हैसियत राजनीतिक दलमध्ये कसैको पनि देखिएन् । काठमाडौंका जनताले अर्को चुनावमा बालेनलाई योभन्दा धेरै मत दिएर जिताउने छन् । काम नगर्ने उखान टुक्का मात्र भन्ने र जनता झुक्काउनेलाई जनताले सदाका लागि बिदा गर्ने छन् ।
मुखले भ्रष्टाचार गर्दिन् भन्ने र कमिशन नखाई केही नगर्नेहरुले राम्रो पाठ पाउनेछन् । काठमाडौं, भक्तपुर, झापा, काभ्रेका जनताले यिनलाई हराउने छन् । जनतामा चेतना आइसकेका छ । अघिपछि हजार जना हिँड्दैमा चुनाव जितिँदैन । जनताले भनेअनुसार एमाले पाँचदेखि सात सिटमै सीमित हुन्छ । दाहाल कहिले यता लहसिने र कहिले उता टाँसिने गरिरहेका छन् । उनको दोहोरो राजनीतिको पनि अन्त्य हँुदैछ । उनलाई पनि चुनाव जित्न गाह्रो छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *