विश्वासको मत लिने तयारीमा दाहाल : आज उपराष्ट्रपति बन्ने उपगठबन्धनले समस्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दोस्रो पटक संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । उनले यही चैत्र ६ गते विश्वासको मत लिने तयारी गरेको समाचार स्रोतले दाबी गरेको छ । त्यस विषयमा दश दलीय गठबन्धनसँग प्रधानमन्त्री दाहालले छलफल गरिरहेका छन् । दाहाल नेतृत्वको सरकारबाट नेकपा (एमाले) र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ । गत फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।
समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले विश्वासको मत लिने तयारी गरेका हुन् । उनले आज हुने उपराष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने तयारी थालेका हुन् । प्रधानमन्त्री दाहाल एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले पहिलो पटक पुस २६ मा कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । संसद्मा ९९ प्रतिशत बढी मत पाउने प्रधानमन्त्रीको रुपमा इतिहास बनाएका दाहालले उक्त गठबन्धनलाई परिवर्तन गरी कांग्रेससहितको नयाँ गठबन्धन बनाएका कारण विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस, माओवादी केन्द्रलगायत १० दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री दाहाल रहेको पनि बताइएको छ । यसका लागि पनि दाहालले मन्त्रालय बाँडफाँडलाई लिएर अनौपचारिक वार्ताहरु गरिरहेको बताइन्छ ।
अबको मन्त्रिपरिषद विस्तार हुँदा एमालेको ठाउँलाई पुर्ति गर्ने गरी कांग्रेसको आगमन हुने बताइएको छ । एमालेले विगतमा लिएका मन्त्रालयहरु कांग्रेसले लिने तथा उस्तै परे थपमा गृहमन्त्रालय पनि कांग्रेसले पाउने गरी तयारी भैरहेको समाचार स्रोतले अनुमान गरेको छ ।
यसरी नयाँ तयारीका साथ मन्त्रिमण्डलको विस्तार गर्नका लागि हालको गठबन्धनमा रहेका दलहरुको एकमत उपराष्ट्रपतिको आज हुने निर्वाचनमा पर्नुुपर्ने हुन्छ । उपराष्ट्रपतिको आजको निर्वाचनमा दलहरुका बीचमा एकमत देखिएको छैन । सत्तारुढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेको छ । गठबन्धनका बीचमा सहमति भएको भनी उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीले उम्मेदवारी दिएको छ । जसपाबाट उम्मेदवारी पर्दा महिलालाई उठाउने कि पुरुष नै भए पनि हुन्छ भन्ने कुराले विवादको अवस्था आउँदा जसपाबाटै महिला र पुरुष गरी दुई जनाको उम्मेदवारी परेको स्थिति छ । उम्मेदवारी फिर्ता गर्ने समय व्यतित भएकाले महिला उम्मेदवार प्रमिलाकुमारीले आफ्नो उम्मेदवारीलाई निष्कृय पारी जसपाकै उम्मेदवार रामसहाय यादवलाई समर्थन गरेको विज्ञप्ती जारी गरेकी छिन् ।
उता, महिला उम्मेदवार बनाइनुपर्ने माग गर्दै सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । झालाई जनमत पार्टीका अतिरिक्त नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत मत दिने भएकाले सत्तारुढ दलका बीचमा विमति देखिएको छ । यही विमतिलाई आधार बनाएर नेकपा (एमाले) उपराष्ट्रपति पदमा फेरि पनि ढोक्सो थाप्न लागेको छ । एमालेले उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएर महिलाको सहानुभूति लिने प्रयास गरिरहेको छ ।
यसरी जनमतको उम्मेदवारलाई लोसपा र नाउप्राले समेत मतदान गर्ने अवस्था आएको हालको स्थितिमा ती दलहरु एक ठाउँमा उभिएर नयाँ उपगठबन्धन बनाएका छन् । उनीहरुको खास विमति उपेन्द्र यादव नेतृत्वको जसपासँग रहेको छ । तराई केन्द्रित रहेर राजनीति गर्दै आएका ती दलहरुका बीचमा विमति हुँदा एमाले उत्साहित देखिएको हो । एमालेको उत्साहमा पानी खन्याइदिने कार्य भने राप्रपाले गरिदिएको छ ।
राप्रपाले राष्ट्रपति पदमा मतदान नगर्दा एमालेको पक्षमा अन्य कुनै दल पनि उभिएका थिएनन् । अहिले आएर उपराष्ट्रपति निर्वाचनमा समेत राप्रपाले मतदान नगर्ने निर्णय गरेको छ । उता, जसपाको महिला उम्मेदवार नभएकाले रामसहाय यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भने यादवलाई मत नदिने निर्णय गरेको छ ।
रास्वपाले उनलाई मतदान नगरे पनि उसले एमालेकी शाक्य वा जनमतकी झालाई मतदान गर्ने संभावना रहेको बताइन्छ । एमालेलाई मतदान गरेको अवस्थामा एमालेको केही मत बढे पनि बहुमत पुग्ने गरी मत पुग्ने अवस्था हालसम्म नदेखिएको स्थिति अंकगणितले देखिएको छ ।
उता, रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर त्यहाँ हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने सोचमा उपेन्द्र यादव देखिएका छन् । उनले त्यस्तो चाहे पनि त्यहाँ उपनिर्वाचन भएको अवस्थामा उपेन्द्रले चाहेजस्तो सहज स्थिति भने देखिएको छैन । रामसहायले निर्वाचन जित्दा नै थोरै मतान्तरले जितेको स्थिति थियो । उनलाई एमालेको समेत समर्थन थियो । उनीपछि कांग्रेसको समेत समर्थनमा माओवादी केन्द्रका उम्मेदवार उठेका थिए । उनले केही सय मतान्तरबाट पराजय भोग्नुपरेको अवस्थामा उपेन्द्रलाई माओवादी केन्द्रबाट पराजित बनेका तात्कालिन उम्मेदवारले सहजै छोडिहाल्ने स्थिति पनि छैन ।
यसैगरी तीनजना स्वतन्त्र उम्मेदवारहरुले पनि त्यो बेला उल्लेख्य मत ल्याएका थिए । जित्नेको भन्दा एक हजार जतिको मतान्तरमा दुईजना स्वतन्त्र उम्मेदवारले मत ल्याएका थिए भने अर्का एकजनाले सात हजार बढी मत पाएको स्थिति थियो । त्यस्तो अवस्थामा थोरै मतान्तरले जितेका रामसहाय यादव उपराष्ट्रपति बनेको अवस्थामा उपेन्द्र उम्मेदवार बन्दा ती स्वतन्त्रले पाएको मत अबको निर्वाचनमा कसरी बाँडिने हुन् भन्ने कुरालाई अहिले नै अनुमान गर्न गाह्रो स्थिति छ । त्यसमाथि उपेन्द्र उम्मेदवार बनेको अवस्थामा एमालेका अतिरिक्त जनमत, लोसपा र नाउपाले समेत छुट्टै उम्मेदवार बनाउने स्थिति रहेको देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *