काठमाडौं उपत्यका २४ सै घण्टा अस्तव्यस्त हुने शहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छन् । धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि देखिँदैनन् किनकि कि होचो ठाउँमा राखिएको हुन्छ कि त धेरै अग्लो । यस्तो हुँदा सवारी चालकलाई ट्राफिक लाइट देख्न पनि मुश्किल पर्छ ।
हरियो बलेको छ कि रातो चालकले देख्दैनन् । जसको कारण दुर्घटना बढेको छ । ट्राफिक नियमानुसार रातो बलेपछि सवारी रोक्नुपर्छ । हरियो बलेपछि गुड्नुपर्छ । मातहतका निकायको कमीकमजोरीका कारण ट्राफिक नियमको पालना हुन सकेको छैन भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ट्राफिक महाशाखा र गृह मन्त्रालयले ट्राफिक लाइट कसरी राख्ने ? भनेर निश्चित नियम बनाएको छैन ।
यसको मारमा सवारी चालक परेका छन् । अगाडि ठूलो सवारी छ भने पछाडिको चालकले देख्दैनन् । हरियो बल्यो कि रातो उनीहरुले थाहा पाउँदैनन् । परैबाट ट्राफिक लाइट देख्ने प्रबन्ध नमिलाउँदा एकअर्कासंँग ठोक्किने क्रम जारी छ । अगाडिको सवारी अचानक रोक्किदा पछाडिबाट एकसुरमा आइरहेको सवारी ठोक्किन्छ । यसले गर्दा धेरैजसो घाइते हुन्छन् । कतिपयले अकालमा ज्यान गुमाउँछन् ।
सवारी साधनलाई हुने क्षति स्वाभाविकै भइहाल्यो । पैदलयात्रीबाट सडक काट्न सहज होस् भन्ने उदेश्यले ट्राफिक लाइट जडान गरिएको हो । ट्राफिक ऐनमा रातो बत्ती बल्ने बित्तिकै सवारी साधन रोक्नुपर्ने उल्लेख छ । त्यसैगरी, जेब्राक्रससम्म आइपुगेको साधन पनि पछि हट्नुपर्छ र पैदलयात्रीलाई बाटो काट्न दिनुपर्छ । सेतो धर्कामा गाडी रोक्न पाइँदैन् । तर, सवारी चालकको लापरबाहीले गर्दा धेरै पैदलयात्रीहरुले ठक्कर खाएका छन् ।
तीमध्य कोही अंगभंग, कोही घाइते र कसैको ज्यानसमेत गएको छ । अझ पनि यस्ता धेरै ठाउँ छन् जहाँ जेब्राक्रस छैनन् । ट्राफिक लाइट र आकाशे पुल त काल्पनिक कुरा भए । जेब्राक्रस भए पनि मेटिसकेका छन् र त्यसतर्फ सरकारको ध्यान गएको छैन । पछिल्लो समय सवारी दुर्घटना अत्यन्तै बढेको छ । घरबाट बाहिर निस्किएपछि फर्किने हो कि होइन भन्ने त्रास बोकेर हिंड्नुपर्ने बाध्यता छ ।
बालबच्चा, बुढाबुढी र भखरै गाँउबाट शहर छिरेकोहरुको अवस्था कहालीलाग्दो छ । बाटो काट्न नसकेर ट्राफिक प्रहरीलाई अनुरोध ग¥यो भने कतिपय झनक्क रिसाउँछन् । कोही चाहिँ सहयोगी हुन्छन् जसले बाटो काट्न सहयोग गरिदिन्छन् । हरेक पैदलयात्रीको सुरक्षाको जिम्मा लिने निकायमध्येमा ट्राफिक प्रहरी पनि हो । सरकारले उनीहरुलाई सडकमा हुने गतिविधि नियाल्न खटाएको हो ।
कर्तव्य (ड्युटी) को समय पनि अधिकांश ट्राफिक प्रहरी मोबाइल चलाएर बसेका भेटिन्छन् । ट्राफिक प्रहरीहरुको व्यवहारमा आजसम्म पनि सुधार हुन सकेको छैन । उनीहरुको रुखो बोली ज्युँको त्युँ छ । राजनीतिक परिवर्तन भयो तर देशका सुरक्षाकर्मीहरुको बोलीबचन फेरिएन । सडक–सवारी साधन–ट्राफिक नियम एकअर्कामा अन्तरसम्बन्धित छन् । तर, हाम्रो मुलुकमा यस विषयमा पढाउने गरिएको छैन ।
स–साना बालबालिकालाई पनि ट्राफिक ज्ञान दिनुपर्छ । पाठ्यक्रम विकास केन्द्रले ट्राफिक नियमको छुट्टै किताब छाप्नुपर्छ । विद्यार्थीहरुलाई यस्तो संवेदनशील विषयमा पढाउने हो भने दुर्घटना कम हुन्छ । ट्राफिक प्रहरीले पनि टोलटोलमा गएर ट्राफिक नियमबारे चेतना फैलाउनुपर्छ । मदिरा सेवन गरेर सवारी चलाउनु हुँदैन । बाटो काट्दा सधैं जेब्राक्रस वा आकाशेपुलको प्रयोग गर्ने जस्ता कुराको जनचेतना दिइनुपर्ने हुन्छ ।
सवारी साधन कुन पट्टिबाट ओभरट्याक गर्ने । वान वे र टु वे भएका सडकहरु कुन कुन हुन्, हर्न नबजाउने जस्ता विषयमा ज्ञान बाँड्न जरुरी छ । ट्राफिक बत्तीबारे पनि पढाउनुपर्छ । कुन रङको बत्तीले के संकेत गर्छ यो सबैलाई थाहा हुनुपर्छ । पछिल्लो समय पैदलयात्रा पथ (फुट पाथ) बाट होइन कि बीच सडकबाट हिंड्ने क्रम बढ्दो छ । फुटपाथमा पसल सञ्चालन गरिंदा पैदलयात्रीहरु बीच सडकमा हिंड्ने गरेका हुन् ।
यो पनि दुर्घटना बढ्नुको प्रमुख कारण बनेको छ । सम्बन्धित निकाय चाल नपाएझै बसिरहेको छ । २०७३ बैशाख १ गतेदेखि उपत्यकाभित्र हर्न बजाउन नपाउने भनिएको थियो । ध्वनी प्रदुषण बढेपछि हर्न बजाउन निषेध गरिएको थियो । यातायात ऐनमा उल्लेख भएअनुसार अस्पताल र शैक्षिक संस्था अगाडि हर्न बजाउन पाइँदैन । अहिले पनि यो नियम कार्यान्वयनमा आएजस्तो देखिँदैन ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशी आपूm चर्चामा आउनका लागि बेलाबखत विभिन्न कार्यक्रम ल्याइरहेका हुन्छन् । कहिले सहचालक–चालकले अनिवार्य जुत्ता लगाउने निर्णय गर्छन् । कहिले मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही गर्नका निम्ति ट्राफिक प्रहरीलाई साधा पोशाकमा खटाउँछु भन्छन् तर गर्ने चाहिँ केही होइनन् । बोल्ने मात्र तर काम चाहिँ नगर्ने प्रवृत्ति प्रमुख जोशीमा देखिएको छ ।
अहिले पनि चप्पल लगाएर खटिएका यातायात मजदुरहरु यत्तिकै भेटिन्छन्, खोइ त अनुगमन ? सार्वजनिक यातायातले भेडाबाख्रा कोचे झैँ यात्रु कोच्छन् । देख्दादेख्दै पनि ट्राफिक प्रहरीहरु चुइँक्क पनि बोल्न सक्दैन् । प्रमुख जोशीले पनि औचित्य बिनाको घोषणा मात्र गर्छन् । ट्राफिक प्रहरी सार्वजनिक यातायात चढेर यात्रुको पीडा बुझेको आजसम्म कुनै सर्वसाधारणले देखेको छ ?
यातायात व्यवसायीसंँग कमिशन लुप्त भएर चुप लागेर त्यस्ता कर्मचारीहरु बसेको आरोप लाग्ने गरेको छ । उनीहरुकै आँखा अगाडिबाट गुन्द्रुक खाँदेको जस्तै यात्रु खाँदेको सवारी गए पनि त्यसलाई कारबाही गर्दैनन् । ट्राफिक महाशाखा हाम्रो काम गाडी छोड्ने मात्र हो । अनुगमन गर्ने जिम्मा हाम्रो होइन् भन्दै पन्छिन्छन् । सडकमा घट्ने हरेक घटना नियाल्ने काम ट्राफिक प्रहरीको भए पनि उनीहरु बेवास्ता गरिरहेका छन् ।
अहिले दिनहँु ११ जनाको सवारी ठक्करबाट ज्यान गइरहेको छ । चालकको लापरबाही, ट्राफिक महाशाखाको कमीकमजोरी र सर्वसाधारणमा ट्राफिक ज्ञानको अभाव दुर्घटना हुनको प्रमुख कारण हो । दुर्घटना कम गराउन कुनै निकायसंँग योजना छैन । ट्राफिक महाशाखा, गृह मन्त्रालय, यातायात मन्त्रालय र यातायात व्यवसायी कहिले जिम्मेवार बन्ने ? अकालमा नेपाली जनताले ज्यान फाल्नुपर्ने दिनको अन्त्य कहिले ?
हिजोभन्दा आजका जनता धेरै शिक्षित भइसकेका छन् । हामीबाट लापरबाही गर्ने बानी हट्न सकेको छैन । हामी आफैं पनि जिम्मेवार बन्ने हो भने हाम्रो बाँच्ने अधिकारको सुनिश्चिता हुन्थ्यो कि ! भर्खरै मात्र सवारी साधन दुर्घटनामा परेर स्याङ्जामा १४ जनाले ज्यान गुमाए । तीमध्ये पनि घाइते र अंगभंग कति भए होलान् ? अनि अझ पनि चेत नखुल्नु हाम्रो लागि लाजमर्दो कुरा हो ।
यातायात व्यवसायी र सरकारले नेपाली जनतालाई भेडाबाख्रा सोचेका छन् । कि त नागरिकको ज्यान त्यति सस्तो छ धमाधम भीरबाट खसालिरहेको छ । तीन दशकअघि बनाएको ऐन कानूनले आज पनि काम गर्छ ? संशोधन गर्नुपर्दैन ? नयाँ ऐन कानून बनाउन सरकार लाग्नु पर्दैन ? दिनभरि कुर्सीमा बस्न र फोनमा गफ गर्न तलब–भत्ता खुवाएको हो ? सरकारको यस्तो पाराले दुर्घटना घट्ने होइन झनै बढ्ने निश्चित छ ।
नेपालका सडकहरु खाल्डाखुल्डीले भरिपूर्ण छ । सडक विभागको ध्यान त्यतातिर जाँदैन । नगरपालिका र वडा फुटपाथ पसल हटाउनसमेत असमर्थ देखिएका छन् । फुटपाथमा विश्राम (पार्क) भएका सवारी साधन पनि हटाउन सकेका छैनन् । नगरपालिका र वडाभन्दा ठूला फुटपाथ व्यवसायी भएका छन् । सरकारले हरेक वर्ष जेब्राक्रसमा रङ लगाउन बजेट छुटाएको हुन्छ । यता, आकाशे पुल बनाउन पनि पर्याप्त बजेट दिइएको हुन्छ ।
विडम्बना, जहाँ पनि कमिशन नै पहिला आउँदो रहेछ । दुई महिना नटिक्ने रङ लगाउँछन् । ठेक्कापट्टा पनि आफ्नै आफन्तलाई दिन्छन् । सस्तो काम गर्छन्, आएको बजेट सबै झवाम्म पार्छन् । कमिशनको लोभमा यस्तो काम भइरहेको छ तर अनुगमन गर्ने निकाय नै मौन बसेको छ । त्यसैगरी, सडकको दायाँबायाँ राखेको सोलारबत्ती रातको समयमा बल्दैनन् । बल्दै नबल्ने बत्ती हाल्नुको औचित्य के ? जडान गरेको दुई महिना नटिक्ने बत्तीको लागि करोडौं रकमको बजेट खर्च गरिएको छ । यसको प्रभावकारिता रत्तीभर पनि देखिएको छैन ।