एमालेको धोकाले जसपा समस्यामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । सत्तारुढ गठबन्धनबाट अन्तिम समयमा अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूलाई यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन महंगो हुने भएको छ ।
सो दलका शीर्ष नेताहरू अहिले आएर नेकपा (एमाले) ले धोका दिएको भन्दै आफूहरु समस्यामा परेको बताउन थालेका छन् । उनीहरूलाई चुनाव जित्न फलामका च्युरा चपाउनु सरह हुन पुगेको विश्लेषण गर्न थालिएको छ ।
जसपाले प्रतिनिधि सभामा देशभर ८१ स्थानमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा मात्रै १७ स्थानमा उम्मेदवारी दिएको जसपाले प्रदेशसभातर्फ देशभर एक सय ४३ स्थानमा उम्मेदवारी दिएको छ । मधेस प्रदेशमा ३६ स्थानमा प्रदेशसभाको लागि उम्मेदवारी दिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको रणनीति, एमालेसँग गठबन्धन गरेर मधेस प्रदेशमा सरकार बनाउने रहे पनि पछिल्लो समयमा एमालेले धोका दिएको भन्दै उनी निरास बनेको बताइएको छ । सरकार बनाउन नसके ठूलो दल बनाई मुख्यमन्त्री आफूले लिने, केन्द्रमा लोसपाभन्दा ठूलो दल बन्ने र २०७४ को चुनावको तुलनामा धेरै स्थान जित्ने सपनासहित यादव नेकपा (एमाले) सँग तालमेल गर्न पुगेका थिए ।
मधेसमा जसपाभन्दा लोसपा अगाडि देखिएको भनी विभिन्न सञ्चार माध्यमहरुमा समाचार आउन थालेपछि जसपा झस्किन पुगेको छ । लोसपाका सबै शीर्ष नेताहरु सुरक्षित रहेको भनी विभिन्न तथ्यांकहरु सार्वजनिक भैरहेको बेला एमालेबाट कतिपय स्थानमा घोषित तथा कतिपय स्थानमा बागी रुपमा उम्मेदवारी परेपछि जसपाका शीर्ष नेताहरु नै चुनावी जोखिममा परेका बताइएको छ ।
एमालेसँग गरेको चुनावी गठबन्धनका कारण जसपाका शीर्ष नेताहरुलाई चुनाव जित्न अप्ठेरो भएको बताइएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र दोश्रो नेता अशोक राईलाई यसपटक चुनाव जित्न धेरै नै कठिन अवस्था रहेको भनी विश्लेषण गरिँदै आएको छ । अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवार बनेको अवस्थामा सत्तारुढ दलहरुको गठबन्धनबाट लोसपाका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवार तथ्यांकमा अघि देखिएका भनी विश्लेषण गरिन थालिएको छ ।
स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणामलाई आधार बनाउँदै आएका समाचार विश्लेषणहरुमा यादव १२ हजार मतले पछि रहेका भन्ने विश्लेषण हुँदै आएको छ । सो क्षेत्रमा जसपाको मत १४ हजार चार सय तीन मात्र रहेको देखिन्छ । त्यस क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र लोसपाले ल्याएको मत जोड्दा १२ हजार भन्दा धेरैले मतले गठबन्धनका उम्मेदवार अघि रहेको भनी समाचारहरु आइरहेका छन् ।
कांग्रेसले १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा माओवादीले ९ हजार ५ सय ३४ मत ल्याएका छन् । सप्तरी २ मा एमालेको ५ हजार ९ सय ५१ मात्र छ । यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५ सय ४२ मत ल्याएको छ । सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सि.के. राउत पनि उम्मेदवार बनेका छन् । लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले साथ दिएका छन् ।
उता, अशोककुमार राई जसपाका दोश्रो तहका नेता भए पनि उनी सुरक्षित अवस्थाम नरहेको भनी विश्लेषण हुन थालेको छ । सुनसरी १ मा जसपाबाट राई उम्मेदवार बनेका छन् । उनलाई समर्थन गर्ने भनी एमालेले उम्मेदबार नउठाए पनि एमालेले बागी उम्मेदबार उठाएर राईलाई धोका दिएको बताइन्छ । त्यसै क्षेत्रमा एमालेका नेता मनोजकुमार मेयाङ्गोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धरानका पूर्व प्रमुख पनि रहेका मनोज स्थानीय स्तरमा लोकप्रीय मानिन्छन् ।
गत स्थानीय तहमा वडाध्यक्षमा दलहरुले ल्याएको मतलाई हेर्ने हो भने सुनसरी १ मा गठबन्धन धेरै अगािड छ । सुनसरी १ मा एमालेको मत ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८ तथा राप्रपाको ४ हजार ७४ छ ।
राईकै जस्तो हालतमा जसपाका तेस्रो तहका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । उनलाई पनि एमालेबाटै धोका भएको छ । श्रेष्ठले काठमाडौं ७ मा उम्मेदवारी दिएका छन् । काठमाडौं ७ मा एमालेले पनि उम्मेदवारी दिएको छ । एमालेबाट श्याम घिमिरेले उम्मेदवारी दिएका कारण श्रेष्ठ निकै कमजोर अवस्थामा पुगेको भनी विश्लेषण हुन थालेको छ । काठमाडौं ७ मा एमाले र जसपाले मित्रवत प्रतिष्पर्धा गर्ने भनेका छन् । सो क्षेत्रमा गठबन्धनबाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छिन् । मानुषी बाबुराम भट्टराईकी छोरी हुन् ।
अर्का शीर्ष नेता राजकिशोर यादवलाई पनि चुनाव जित्न मुस्किल पर्ने भनी चर्चा चलेको छ । सिराहा २ मा उम्मेदवारी दिएका उनी पनि गत स्थानीय तहमा वडाध्यक्षमा दलहरुले ल्याएको मतको आधारमा सिराहा २ मा गठबन्धन अगाडि छ । जसपाको मत २१ हजार ९७ मात्र छ । यसैगरी कांग्रेसको १९ हजार ४७४, एमालेको १८ हजार ३५८, माओवादी केन्द्रको ११ हजार ६५८, जनमत पार्टीको ५ हजार १०१, नेकपा एसको ३ हजार ९२३, लोसपाको ९७९ मत छ । सो क्षेत्रमा कांग्रेसबाट चित्रलेखा यादवले उम्मेदवारी दिएकी छिन् ।
एमालेसँगको गठबन्धनले जसपाका नेता इस्तियाक राई समेत समस्यामा परेको बताइन्छ । राईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमसेर राणाले उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेका कारण राई पनि समस्यामा परेको बताइन्छ । बाँके २ मा कांग्रेसबाट उम्मेदवार सुदीपनरसिंह राणाले उम्मेदवारी दिएका छन् ।
जसपाका अर्का नेता रामबाबु यादवलाई पनि एमालेबाट धोका भएको चर्चा चलेको छ । बारा ३ मा एमालेका नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएका कारण त्यस क्षेत्रमा जसपाबाट रामबाबु यादव उम्मेदवार बने पनि उनी समस्यामा छन् । बारा ३ मा कांग्रेसबाट फरमुल्लाह मन्सुरले उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *