सम्पादकीय
विश्व जलवायु संकटको गम्भीर अवस्थातर्फ उन्मुख भएको भनी संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले देखाएको छ । राष्ट्रसंघअन्तर्गतको विश्व मौसम संगठन (डब्लु.एम.ओ.) ले सार्वजनिक गरेको विश्वव्यापी जलवायुको वर्तमान अवस्थासम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख भएको हो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि तत्काल प्रयास गरिनुपर्ने कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख छ । ‘प्रोभिजनल स्टेट अफ द ग्लोबल क्लाइमेट इन २०२२’ नाम दिइएको उक्त प्रतिवेदन जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ सम्मेलनको अवसर पारेर सार्वजनिक गरिएको हो । निरन्तर बढ्दै गएको हरितगृह ग्यासको उत्सर्जनसहितका मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्ने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । हरितगृह ग्यासको केन्द्रीकरण अर्थात् एकाग्रता तथा सञ्चित तापक्रम बढ्दो क्रममा हुनु गम्भीर अवस्था भनी वैज्ञानिकहरुले बताउने गरेका छन् ।
तातो हावा, खडेरी र भीषण बाढीले विश्वभर यो वर्ष दशौँ लाख मानिस प्रभावित भए भने अर्बौँ रुपियाँ बराबरको क्षति भएको कुरा प्रतिवेदनमा उल्लेख छ । विश्वको औसत तापक्रम औद्योगिक युग पूर्व (सन् १८५०–१९००) को तुलनामा करिब १.१५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्नका लागि अन्तर्राष्ट्रिय रूपमा १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धि सीमित गर्ने लक्ष्य राखिए पनि पछिल्ला घटनाक्रमले त्यो सीमा नाघ्दै गएको देखिएको कुरा पनि प्रतिवेदनमा छ । तापक्रम जति बढ्छ, गम्भीर प्रभाव त्यति नै बढी हुन्छ । वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा यति धेरै जम्मा भएको छ कि पेरिस सम्झौतामा उल्लेख गरिएजस्तो तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने कुरा अबको अवस्थामा असंभव प्राय रहेको कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०१६ यताका हरेक वर्ष इतिहासकै गम्भीर गर्मी वा तातो वर्षका रूपमा स्थापित भएका छन् । समुद्रको तापक्रम अहिलेसम्मकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ । युरोपमा हिमनदी पग्लिने क्रम सन् २०२२ मा अत्यधिक देखिएको र औषतमा हिमनदीको लम्बाई चार मिटरसम्म गुमेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायुको संकटको कुरा गर्दा हाम्रो देश नेपाल पनि यो संकटबाट मुक्त हुन नसक्ने अवस्थामा छ । खासगरी हाम्रो देशमा रहेका हिमालहरुमा रहेका हिउँहरुको कारण नेपालले पनि यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ । नेपालमा रहेका हिमाली क्षेत्रको हिउँलाई बचाइराख्नु वातावरणको लागि आवश्यक देखिन्छ । नेपालका हिमालहरुमा हिउँ पग्लिएर सुख्खा हुँदै जान थालेका कारण यसले विश्वमै संकट निम्त्याउने खतरा छ । हिमाललाई प्राकृतिक रुपमा सुरक्षित राख्न सकिएन भने एकातिर हिउँ पग्लिएर वातावरणलाई नै नकारात्मक प्रभाव पार्ने हुन्छ भने अर्कातिर पग्लिएको हिउँका कारण समुन्द्री सतहमा वृद्धि हुने अवस्था आउँछ । त्यस्तो भएका खण्डमा त्यसले विश्वको वातावरणीय अवस्थालाई नै संकटमा पार्ने कार्य गर्ने देखिन्छ ।