काठमाडौंमा प्लाष्टिक निषेध

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौँ महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोग गर्न नपाइने भएको भएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (वालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।
एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने भनी उनले घोषणा गरेका हुन् । यसअघि पनि यस्तो घोषणा हुँदै आएकोमा यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने दाबी उनले गरेका छन् ।
यसैगरी आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति पनि महानगरले लिएको उनले जानकारी गराएका छन् । निर्माण गर्दा पनि विभिन्न मापदण्डको पालना गरिनुपर्ने कुरा उनको नीति तथा कार्यक्रमामा उल्लेख छ । यसकालागि वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति महानगरले लिने उनले बताएका छन् ।
यसैगरी अहिले नै सडकपेटीमा सुधार गर्न सफल रहँदै आएका प्रमुख शाहले सडकपेटीमा पैदलयात्रुलाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध, ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गर्ने पनि उनले जानकारी गराए ।
यस पटकको नीति तथा कार्यक्रममा ‘उज्यालो शहर, मेरो महानगर’ भन्ने नाराका साथ योजनाहरु अघि सारिने भएको छ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिने कुरालाई यो योजना अन्तर्गत राखिने पनि बताइएको छ ।
सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्नका लागि स्वर्णिम योजनाका रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रत्येक बस स्टपलाई परम्परागतस्वरूपको फल्चामा रूपान्तरण गरी हाम्रा आफ्ना संस्कृतिको जगेर्ना गर्ने सोच पनि प्रमुख शाहले सार्वजनिक गरेका छन् ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने पनि उनले आफ्नो नीति तथा कार्यक्रममाा उल्लेख गरेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पु¥याइने पनि उनले उल्लेख गरेका छन् । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि लिइने उनले उल्लेख गरेका छन् ।
प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । यसैगरी वार्षिकरूपमा एक लाख रुखबिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित शहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *