मल कारखाना खोल्नु आवश्यक

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

नेपाल कृषि प्रधान देश भएर पनि रासायनिक मलको कारखानाको अभाव रहँदै आएको छ । यही कुरालाई मध्यनजर गर्दै नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । रि–निकोला मलेसियाको कम्पनी हो । लगानी बोर्डले विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको छ । सम्झौताअनुसार रि–निकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्ने कुरा उल्लेख छ ।
यो कारखाना तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको छ । यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको हो । हालको बजार मूल्यलाई आधार मान्दा करिब २६ करोड अमेरिकी डलर सो परियोजनाका लागि खर्च लाग्ने अनुमान गरिएको छ । यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने बताइएको छ ।
नेपाल कृषि प्रधान देश भएर पनि रासायनिक मलका लागि भने विदेशी मलमै निर्भर रहँदै आउनु परेको छ । नेपालमा प्रांगारिक मलको उत्पादन नेपाली किसानले आफ्नै प्रविधिमा स्थानीय स्तरबाट उत्पादन गर्दै आए पनि त्यो मात्र पर्याप्त नभएको अवस्था छ । बढी उत्पादनका लागि रासायनिक मलको प्रयोग विश्वव्यापी रुपमा हुने गरेको छ । यस्तो स्थितिमा नेपालमा पनि विभिन्न देशबाट रासायनिक मलहरु ल्याइने गरेको छ । यसरी बाहिरबाट ल्याउने गर्दा एकातिर ढुवानीमा बढी खर्च हुने तथा अर्कातिर समयमा मल पनि आइ नपुग्ने हुँदा त्यसले नेपाली किसानलाई मार्का परिरहेको छ । यो स्थितिमा नेपालमै यस्ता खालका कारखानाहरु खोलिनु जरुरी देखिन्छ । यो कुरालाई अध्ययन प्रतिवेदनमा मात्र सीमित नगरी नेपालमा उत्पादन नै गर्न सकेका खण्डमा त्यसले नेपाली किसानको धेरै हदसम्म समस्या समाधान गरिदिने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *