जापान नेपाल सम्बन्धबारे राजदूत सुवेदी

Nayabimarsha (Weekly Newspaper from Nepal)

जापान/ जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताइएको छ । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) ले सो कुरा बताएका हुन् ।
दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको भनी हालै एक कार्यक्रममा उनले आफ्नो धारणा राखेका छन् । राजदूत सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको धारणा राखेका छन् ।
जापानमा करिब एक लाख ६३ हजारको संख्यामा नेपाली रहेको अनुमान गरिएको छ । उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको संख्या बढी रहेको बताइन्छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा तथा करिब आठ सयको संख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको धारणा राजदूत सुवेदीले राख्दै नेपाली खाना, नेपाली संस्कृतिलाई जापानमा रहेका नेपालीले झल्काउने गरेको पनि उनले बताएका छन् ।
यसैबीच गैरआवासीय नेपाली संगठन (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका व्यक्ति हुन् । जापानमा प्रा.डा. केशवलाल महर्जन, प्रा.डा. नेत्रप्रकाश भण्डारी, प्रा.डा. रमेश पोखरेल, प्रा.डा. प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न छन् ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गरेका बताइन्छ । राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ ।
कुलेखानी जलविद्युत् आयोजना, महाराजगञ्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा.सुवदी बताउछन् ।
सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *