नारायणकाजीलाई बाटो लाग्न सुझाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने दिन बानेश्वरमा आन्दोलनकारीको नेतृत्व गरेपछि र आफ्नो विमतिलाई सडकमै उतारेपछि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको छ ।

गत फागुन १६ गते माओवादी केन्द्रले जनमानसमा रहेको एमसीसीको विरोध र भ्रमलाई प्रष्ट पार्न खुलमटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठलाई पार्टी छाडेर गए काँध थाप्न नसकिने भनी अध्यक्ष दाहालले बताएका थिए । महाकाली सन्धिका बेला नेता वामदेव गौतमको जस्तै अवस्था हुने भन्दै दाहालले श्रेष्ठलाई चेतावनीसमेत दिएका थिए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले जस्तै एमसीसीको विषयमा देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, जयपुरी घर्ती र रेखा शर्माले पार्टीमा मात्र असहमति जनाएको समाचार स्रोतले बताएको छ । एमसीसी पारित गर्ने समयमा यशोदा गुरुङ (सुवेदी) र अमृता थापाले संसद् बहिष्कार गरेका थिए भने गिरिराजमणि पोखरेल र अञ्जना विशुंखेले विपक्षमा हात उठाएका थिए ।

अब उपरोक्त सांसद्हरुलाई पार्टीले कारबाही गर्ने बताइएको छ । एमसीसीको विषयलाई श्रीमतीलाई मन्त्री बनाएर जनताले तिरेको करबाट सेवा, सुविधा लिने गरेका नेता लीलामणि पोखरेलले पनि चर्को विरोध गर्दै आएका छन् ।

यसैबीच, नारायणकाजीको चर्को असन्तुष्टि बढेपछि पार्टी विभाजन हुन सक्ने खतरा बढेको छ । यही कुराको सुइँको पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल श्रेष्ठलाई भेट्न र थामथुम पार्न हात्तीवन पुगेका छन् । नेता श्रेष्ठ माओवादी केन्द्र छाडी एमालेमा प्रवेश गर्ने चर्चा चलेको छ । श्रेष्ठ एमालेमा प्रवेश गरे नेता गिरिराजमणि पोखरेल पनि उनैको पछि लाग्ने बताइएको छ । अब श्रेष्ठ एमालेतिर नलागेको अवस्थामा गोर्खाबाट चुनाव जित्न महाभारत पर्ने जानकारहरुले बताएका छन् । माओवादी केन्द्रमा धुन्धुकारी नेताको पहिचान बनाएका श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको चर्चा चलेको छ । यसै पनि माओवादी पार्टीको अवस्था नाजुक बन्दै गएको नेता तथा कार्यकर्ताहरुको गुनासो छ । अध्यक्ष दाहालले नै पार्टी छाडेर गए हुन्छ भनेपछि नेता श्रेष्ठले पार्टी विभाजन गर्न सक्ने खतरा बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *