दलहरुको सक्रियता बढ्दै ll कांग्रेसमा उत्साह तालमेलमा अलमल ll

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l नेपालको राजनीतिमा चुनावको मुखमा दलहरुको सक्रियता ह्वात्तै बढ्ने गर्दछ । आगामी बैशाख ३० गतेका लागि स्थानीय चुनावको मिति घोषणा भएका कारण दलहरु अहिले त्यसको तयारीमा जुटेका छन् । हरेक दिन सबैजसो जिल्लाहरुमा सबैजसो दलहरुले केही न केही राजनीतिक कार्यक्रम राखी मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास जारी राखेका छन् । पछिल्लो समय नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समेत राजनीतिक कार्यक्रमहरुमा सक्रिय देखिएका छन् । विभिन्न जिल्लामा हुने कार्यक्रमहरुमा देउवाले उपस्थिति जनाउने तथा काठमाडौंमा आयोजित कार्यक्रमहरुमा विभिन्न दलबाट कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गर्ने जस्ता कार्यक्रमहरुमा उनी उत्साहका साथ देखिने गरेका छन् ।

कांग्रेस यस पटकको निर्वाचनका लागि एकदमै उत्साहित देखिएको छ । हालै सम्पन्न महाधिवेशनताका कांग्रेसजनमा आन्तरिक प्रतिस्पर्धाको लागि देखिएको तीक्तता पनि मेटिंदै गएको छ । पछिल्लो समय कांग्रेजजनहरु आफ्नो दललाई स्थानीय निर्वाचनलगायतका सबै निर्वाचनहरुमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाई नेपालमा कम्युनिष्टहरुको बोलवाला बन्द गराउनुपर्छ भन्ने मान्यताका साथ लागि परेको देखिन्छ । विश्वभरी प्रजातन्त्रको पक्षधरहरुको बोलवाला रहेको अवस्थामा नेपालमा भने कम्युनिष्ट भनाउँदाहरुले जनतालाई भ्रममा राखी निर्वाचन जित्ने गरेको बुझाइमा कांग्रेसजन देखिएका छन् ।

यस पटक कांग्रेसजनमा उत्साह थपिनुमा कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुलाई फनफनी घुमाउन सक्नु पनि मुख्य कारक मानिएको छ । कमजोर अवस्थाको प्रमुख प्रतिपक्षी दलको रुपमा रहँदै आएको कांग्रेस कम्युनिष्टहरुमा आएको आन्तरिक द्वन्द्व तथा फुटका कारण देउवा प्रधानमन्त्री बन्ने अवस्था आयो । देउवाले प्रधानमन्त्री बन्दा बनाएको सत्तारुढ गठबन्धनलाई आफ्नो नियन्त्रणमा राख्न सकिरहेका छन् । कांग्रेसले साथ छोड्नासाथ गठबन्धनका अन्य दलको हैसियत कमजोर हुने अवस्थामा पुगेको जानकारी पाएका देउवाले त्यसैलाई आफ्नो बलको रुपमा प्रयोग गर्दै आएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एकाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको कमजोरीलाई समेत राम्ररी नाडी छामेर खेलाउन सफल भएका छन् । नेपालको राजनीतिमा खेलाडीका रुपमा रहँदै आएका ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल समेतलाई समेत देउवाले खेलाउन सफलता पाएको अवस्था छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) समेत कांग्रेसको साथमा मात्र उभिन सक्ने अवस्थालाई मध्यनजर गर्दै देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि आफ्नो कित्ता छोड्न नसक्ने अवस्थामा राख्न सफल भएका छन् ।

देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई संसदबाट अनुमोदन गराउने विषयमा ओली, दाहाल र नेपाल जस्ता राजनीतिक खेलाडीहरुलाई समेत खेलाएर उनीहरुभन्दा आफ्नो उपल्लो स्तरको खेलाडी भन्ने साबित गराउन सफल भएका छन् । कांग्रेसमा विभिन्न कुरामा विमति हुने गरे पनि एमसीसीका विषयमा खासै विमति हुन पाएन । एमसीसीलाई कांग्रेसले विकास निर्माणको अवसरमा बुझेका कारण पनि त्यस विषयलाई लिएर अन्य दलमा जस्तो मतभिन्नताको अवस्था देखिएन । यस्तो हुँदा प्रधानमन्त्रीसमेत रहेका देउवालाई अन्य दललाई समेत दबाबमा पार्न सघाउ पु¥याएको थियो ।

कम्युनिष्टहरुमा विभाजन गराई उनीहरुलाई कमजोर बनाउन देउवा सफल भएका हुन् । यसैगरी विभिन्न समय प्रधानमन्त्री बनी लामो अनुभव बटुलिसकेका देउवाले एमालेका अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर विभिन्न खेल खेल्ने तयारी भैरहेको भन्ने कुरा सार्वजनिक हुनासाथ उनीहरुको योजनालाई सफल हुन नदिने गरी अर्को खेल खेल्न सफल भए । देउवाको यो चतु¥याइँका कारण ओलीको खेल बन्द हुन पुग्यो भने राणाविरुद्ध महाअभियोग लागेको अवस्था छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिष्ट दलहरु विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो ठूलो दल हुने आंकलन गरेको छ । विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर—घर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । त्यसरी जित्नका लागि माओवादी केन्द्र र नेकपा (एस) को साथ कांग्रेसलाई चाहिने अवस्था छ । केही स्थानमा बाहेक माओवादीका लागि सहज अवस्था नभएकाले गठबन्धन अपरिहार्य जस्तै बनेको देखिन्छ । यदि सबै दल एक्लाएक्लै चुनावमा गए कांग्रेस र एमाले नै मूख्य प्रतिस्पर्धी दल बन्ने अवस्था छ ।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओली पनि राजनीतिक कार्यक्रमहरुमा सक्रिय रुपमा लागेका छन् । ओलीको दल नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक हिजो विहीबारसम्म चलेको अवस्थामा उनी त्यसमै व्यस्त देखिएका थिए । त्यसअघि उनी विभिन्न जिल्लामा पुगी एमालेमा प्रवेश गर्नेहरुलाई फूलमाला लगाउने तथा खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको उछितो काढ्ने कार्यमा व्यस्त रहँदै आएका छन् । एमालेबाट कतिपयले राजनीतिक विश्राम लिइरहेको तथा कतिपय अन्य दलमा प्रवेश गरिरहेको हालको अवस्थामा त्यसको क्षतिपूर्ति स्वरुप अन्य दलका केही नेताहरुलाई एमालेमा प्रवेश गराई ओली त्यसको क्षतिपूर्ति भराउने पक्षमा देखिएका छन् ।

सत्ता गठबन्धन कायमै रहेको अवस्थामा स्थानीय निर्वाचनमा धुलो चाट्नुपर्ने अवस्था एमालेका लागि रहेको भनी विश्लेषकहरुले धारणा राखिरहेको अवस्थामा ओली भने त्यसलाई ढाकछोप गर्ने पक्षमा देखिएका छन् । एमाले एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै ओलीले आफ्ना दलका नेता कार्यकर्ताहरुलाई हौस्याउने गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको छ ।

एमालेको सचिवालय बैठक र पोलिटव्यूरो बैठकमा पनि नेताहरुले गठबन्धन भए पनि एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ गरेको प्रचार गरिएको छ । जिल्लाहरुबाट आएका विभिन्न प्रतिवेदनको हवाला दिंदै एमालेले गठबन्धन दलहरुभन्दा केही सीट बढी ल्याएर एमाले पहिलो ठूलो दल बन्ने दाबी गर्दै आएको छ ।

गठबन्धन भएन भने एमाले एक्लैलै ५० प्रतिशत भन्दा माथि कांग्रेससहितको गठबन्धन भएमा ४० प्रतिशत जित स्थानीय तहमा हासिल हुने भनी एमालेको आन्तरिक बैठकहरुमा यस्तो भन्ने गरिएको एक नेताले बताए । एमालेले माधवकुमार नेपाल लगायतको समूहमा नेताहरु मात्रै गएको कार्यकर्ता खासै नगएका कारण करिब पाँच प्रतिशत मात्रै असर गर्ने भनी आन्तरिक विश्लेषण गरेको छ । एमालेले सात सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ । एमालेले त्यो बेला सात सय ५३ वटा स्थानीय तहमध्ये दुई महानगरपालिका र सात उपमहानगरपालिकासहित एक सय २३ नगरपालिकाको प्रमुख जितेको थियो ।

यसैगरी एक सय ७१ गाउँपालिकाको अध्यक्ष पनि एमालेले हात पारेको थियो । स्थानीय तहमध्ये तीन सय ३१ ठाउँमा उपाध्यक्ष जितेको एमालेले त्यति बेला प्रमुखको तुलनामा ३७ ठाउँमा उपप्रमुख बढी जितेको थियो । यस्तै, एमालेले दुई हजार पाँच सय ६० वडामा वडाध्यक्ष जितेको थियो ।

यता, कांग्रेस र एमाले स्थानीय तहको निर्वाचनमा ढुक्क देखिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी भने गठबन्धन नभएमा अप्ठेरोमा पर्ने अवस्थामा देखिएका छन् । चुनावी अभियान सञ्चालन गरेका दुवै दलले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसले स्पष्ट जवाफ नदिएका कारण पनि उनीहरु धरमरको अवस्थामा रहन पुगेका हुन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती छ भने एकीकृत समाजवादी भने स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति नहुनेमा सहमत जस्तै छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनावी तालमेल गर्ने पक्षमा रहेता पनि सहमतिमा पुग्न भने सजिलो छैन । केन्द्रको निर्देशन विपरित कतिपय जिल्ला तथा स्थानीय निकायमा छुट्टै समीकरण बन्ने पो हो कि भन्ने त्रासमा शीर्ष नेताहरु देखिएका छन् । यसैगरी केन्द्रमा गठबन्धन जे भए पनि जिल्ला तथा स्थानीय निकायमा हालको गठबन्धनलाई कायमै राख्ने भनी अर्घाखाँची र धनकुट्टा जिल्लामा निर्णय भइसकेको अवस्था छ । यसरी गठबन्धनका बीच मन मिल्ला नमिल्ला भन्ने कुरा भइरहेको अवस्थामा छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने चुनावी तालमेल गर्ने विषयमा शीर्ष नेताहरुका बीचमा मोटामोटी सहमति भएको बताइएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल भएको थियो । त्यतिबेला एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेका थिए । पहिले एमालेले जितेका स्थानहरुमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले अहिले दाबी गर्दै आएको छ । केही ठाउँमा यो दलको तर्क ठीकै देखिए पनि सबै ठाउँमा भने त्यसो गर्न नसकिने बुझाईमा अन्य दलका शीर्ष नेताहरु रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *