स्थानीय निर्वाचनले देश नयाँ मार्गमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

दलहरु मन्थनमा आजबाट पदबहाली

भक्तपुर ।  विभिन्न आशंकाका बीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमध्ये आधा जसो स्थानको नतिजा सार्वजनिक भएको छ । अझै पनि कतिपय स्थानहरुको नतिजा आउने क्रममा रहेका छन् । स्थानीय निर्वाचनमा मतपत्रको बनौट अस्वाभाविक भएको तथा अधिकांश स्थानहरुमा विभिन्न दलहरुले तालमेल गरी उम्मेदवारी दिएका कारण तिनको असर मतगणनामा देखिएको छ । यस्ता कारणले मतगणनाको क्रम तीव्र हुन सकेको छैन । उम्मेदवारी नै नदिएका दलहरुको चुनाव चिन्हसमेत गरी अनावश्यक चुनाव चिन्ह मतपत्रमा हुँदा मतदातालाई जति असहज भएको त्यो भन्दा बढी अहिले गणनामा भएको छ । सोही कारण एकातिर बदर मतको संख्या समेत बढेको अवस्था छ । अवस्था जे जस्तो भए पनि यस निर्वाचनले स्थानीय तहको आवधिक निर्वाचनलाई अद्यावधिक गर्र्ने कार्य गरेको छ ।

यस पटकको निर्वाचनमा नेपालीजनले फेरि पनि लोकतान्त्रिक पद्दतिलाई मान्ने खालको जनमत दिएका छन् । जनताले यो पटक बढी मात्रामा सत्तारुढ दलहरुमध्येको प्रमुख दल नेपाली कांग्रेसलाई जनमत दिएका छन् । पछिल्लो निर्वाचन परिणामलाई आधार मान्दा कांग्रेसले ४५ प्रतिशत बढी स्थानमा विजयको माला पहिरिएको छ । कांग्रेसले धेरैजसो स्थानमा कि प्रमुखमा कि उप प्रमुखमा आफ्ना उम्मेदवारहरुलाई जिताउन सफल देखिएको छ ।

कांग्रेसको यो सफलता धेरैजसो स्थानमा एक्लै भिड्दा नै देखिएको छ भने केही स्थानमा सत्तारुढ दलहरुसँगको गठबन्धनका कारण निकाल्न सकेको देखिन्छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन अधिकांश स्थानहरुमा सफलता उन्मुख देखिएका छन् । उता, सत्तारुढ दलहरुकै अन्य दलहरु अर्थात नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीसँग भने खासै सफलता मिल्न नसकेको देखिन्छ ।

एकीकृत समाजवादीको हैसियत प्रष्ट नभएको अवस्थामा उसले बढी स्थानहरुमा उम्मेदवारी दिन चाहेको थियो । उसले धेरै स्थानहरुमा उम्मेदवारी दिन चाहेको अवस्थामा अन्य दलहरुले भने त्यसलाई मान्न तयार नभएपछि कतिपय स्थानहरुमा दलहरु मित्रवत् प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु मित्रवत प्रतिस्पर्धामा उत्रिएको अवस्थामा उनीहरुको वास्तविक हैसियत बाहिर आउन पनि सफल भएको छ । यस्तो अवस्थामा एकीकृत समाजवादी र जसपाले उल्लेख्य रुपमा नतिजा निकाल्न नसकेको पाइएको छ ।

निर्वाचन यस्तो कुरा हो जसमा जसको जित हुन्छ उसले सही र जसको हार हुन्छ उसले धाँधली भन्ने गर्दछ । पछिल्लो अवस्थामा पनि यो कुरा फेरि नेपाली राजनीतिक बजारमा आएको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यो कुरालाई उठाउन थालेको छ । शुरुवाती क्रममा आफ्ना उम्मेदवारको पक्षमा राम्रै मतपरिणाम आइरहेको अवस्थामा तीन दिनसम्म चुप लागेर बसेको एमालेका केही नेताले आफ्नो दलका उम्मेदवारहरुको अवस्था खस्किन थालेपछि भने धाँधलीको कुरा गर्न थालेको छ । यो कुरालाई बुद्धिजीवीहरुले भने राम्रो मानेका छैनन् ।

‘धाँधलीको बहाना पराजित हुने जो कोहीले गर्ने सामान्य कुरा हो । आफू हार्न थालेपछि यस्तो कुरा निकाल्नु भनेको आफ्नै बेइज्जत गर्नु हो । एमालेले यस्तो कुरा गरेर जनमतको अपमान गर्न मिल्दैन ।’ भन्दै अधिवक्ता भवानीप्रसाद अधिकारी भन्छन्, ‘यो त राम्रो कुरा होइन । धाँधली भएको हो भने एमालेले आफूले जितेका स्थानमा पनि धाँधली भएको भनी भन्न सक्नुप¥यो नि ।’

यस पटकको निर्वाचन अलि फरक माहौलमा हुन गएको थियो । यसअघिको निर्वाचनमा केही स्थानहरुमा तथा केही दलहरुले गठबन्धन वा तालमेल गरेका थिए । त्यो बेला पनि मतदाता भने तालमेलको पक्षमा खासै रुपमा देखिएका थिएनन् । यस पटक भने सबैजसो दलले सबैजसो स्थानहरुमा तालमेल तथा गठबन्धन बनाएर चुनावमा होमिएका थिए । गठबन्धनको सबैभन्दा बढी विरोध गर्नेमा नेकपा (एमाले) तथा त्यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओली देखिएका थिए । आफूहरु एक्लै लड्न तयार रहेको भनी हँुकारेका ओली पछि भने लत्रिन पुगेका थिए ।

उनले केही दलहरुसँग लिखित रुपमै गठबन्धन बनाउने कार्य गरेका थिए भने धेरै दलहरुसँग तत्कालै गठबन्धन बनाएका थिए । उनले हुँदा हुँदा व्यक्ति व्यक्तिसँग समेत गठबन्धन बनाएका थिए । तनहुँमा एमालेले कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीसँग व्यक्तिगत रुपमा गठबन्धन बनाएका थिए । यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवाको तेजोबध गर्न सकिन्छ कि भनी उनले देउवाको विरोधमा डडेलधुरामा क्रियाशील रहँदै आएका कर्ण मल्लसँग समेत व्यक्तिगत सहमति गरी कांग्रेसलाई हराउन सकिन्छ कि भनी प्रयास गरेका थिए ।

मल्लले पनि त्यहाँ नेपाली कांग्रेस (बी.पीं.) को नाममा आफ्ना समर्थकहरुलाई उठाएर कांग्रेसलाई हराउन भनी भूमिका निर्वाह गरेका थिए । उनीहरुको प्रयास जति नै रहे पनि देउवाको जिल्लामा समग्रमा कांग्रेसले खासगरी काठमाडौं महानगरपालिकाको नतिजाले नेपालभरी मात्र होइन कि विश्वभरी नै यसलाई चासोका साथ हेर्न थालिएको छ । देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा दलका उम्मेदवारहरुलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका ३२ वर्षीय वालेन्द्र साह (वालेन) ले सबैजसो वडाहरुमा अग्रता लिइरहेको पाइन्छ । स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारहरुलाई चुनौती दिएको मात्र होइन कि ‘आच्छु आच्छु’ नै पारेको अवस्था छ ।

निर्वाचन परिणामलाई लिएर सबैजसो दलहरु आन्तरिक मन्थनमा रहेका बताइएको छ । यस पटकको विजयलाई कांग्रेसले सहज रुपमा लिएको छ । कांग्रेसका नेताहरुले गठबन्धन सफल भएको भनी प्रतिक्रिया दिएका छन् । यसैगरी माओवादी केन्द्रका नेता वर्षमान पुनले समेत यो गठबन्धनलाई सफल भन्दै यसलाई आगामी संघीय र प्रदेशसभाको निर्वाचनसम्म कायम राख्नुपर्ने धारणा राखेका छन् ।

उता, यो गठबन्धनको विषयलाई लिएर एकीकृत समाजवादी भने खुशी हुन नसकको पाइएको छ । गठबन्धन भए पनि त्यसलाई अन्य दलहरुले सहज रुपमा स्वीकार्न नसकेको बुझाइमा एकीकृत समाजवादी रहेको छ । यसैगरी जसपा नेपालका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि गठबन्धनका विषयमा सोच्नुपर्ने अवस्था आएको भन्ने आशय राखेका छन् । उनको दलले गोरखामा पाँच दलीय गठबन्धनको निर्णय विपरित एमालेसँग तालमेल गरी गठबन्धन भाँड्ने खालको गतिविधि गरेको छ ।

यसरी भएको निर्वाचनको सबै परिणाम सार्वजनिक नभएको अवस्थामा हिजो विहीबारबाट सबै स्थानीय तहका पदाधिकारीहरुको पदावधि सकिएकाले आजबाट कतिपय पालिकाहरुमा विजयीहरुले आफ्नो पदीय जिम्मेदारी सम्हाल्ने भएका छन् । निर्वाचन आयोगले निर्वाचितहरुलाई विजयको प्रमाणपत्र दिइसकेको अवस्थामा उनीहरुले पदबहाली गर्ने भएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *