जनतालाई महंगी उपहार

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l सरकारमा रहेको गठबन्धन सरकारलाई जनताले स्थानीय निर्वाचनमा हैसियतअनुसार मत दिएका छन् । जनताको प्राप्त अभिमतले नेपाली काँग्रेसले बहुमत पाई ठूलो दल र नेकपा (माओवादी केन्द्र) तेस्रो, जसपा चौथो र नेकपा (एकीकृत समाजवादी) पाँचौँ दल बन्न पुगेका छन् । तैपनि जसपा र नेकपा एसले प्राप्त परिणामलाई सन्तोष ठानी नाक बजाइरहेका छन् ।

‘मुठ्ठी रोपेर मुरीको आशा गर्ने’ नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलाममा परिणाम राम्रो नआएपछि नेकपा (एमाले) मै फर्कन साइत हेरेर बसेका छन् । नेता खनाललगायतका नेताहरुलाई जनताको भन्दा दलको प्राण रक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

गत बैशाख ३१ गते इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले एक हप्ता पुग्दा जेठ ८ गतेबाट फेरि मूल्यवृद्धि गरी पेट्रोलमा प्रतिलिटर रु.१० बढाएर रु. एक सय ८० पु¥याएको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु.दुई सय वृद्धि गरेको छ । निगमले गत बैशाख ३१ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु.१० बढाएको थियो । आयल निगम पनि नेपाल वायुसेवा निगमजस्तै माफिया र तस्करहरुको चङ्गुलमा फस्दा गत बैशाख मसान्तसम्म रु.४७ अर्ब घाटामा रहेको बताएर निगमले आफ्नो कमजोरी ढाकछोप गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, डलरको आकाशिँदो भाउ र रुस—युक्रेनको जारी युद्धलाई निहुँ बनाएर खुलेआम उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । महँगीले जनताको चुल्हो बल्न धौ—धौ परेको अवस्थामा ग्यासमा रु.दुई सय बढाएर एक हजार आठ सय पु¥याउँदा पनि अझै लाज पचाएर आठ सय पचास घाटा रहेको बताइएको छ ।

सरकारलाई निगमले बुझाउने पूर्वाधार कर, भन्सार शुल्कबापतको १५ रुपियाँ घटाउने हो भने उपभोक्तालाई राहत हुने निगमका जानकारहरुले बताएका छन् । मूल्य बढाउनुभन्दा कर घटाएर जनतालाई नदिने हो भने राजधानीबासी र विद्यार्थीहरु झिटीगुण्टा कसेर फर्किनुपर्ने अवस्था नआउला भन्न सकिन्न । जनताले स्थानीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिएको उपहार सरकारले जनतालाई महँगी दिएका भनेर प्रतिपक्ष दल र विद्यार्थी संगठनहरुले सडक तताउन शरु गरिसकेको अवस्थामा सरकारले तुरुन्त मूल्यवृद्धि फिर्ता गर्नुको विकल्प देखिँदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *