निधिले नाक जोगाए, सिंहको राजनीति संकटमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसका नेताहरुले आफ्नो गृहनगरको वडा सुरक्षित राख्न सकेनन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दल डडेलधुराको गृहवडा गन्यापधुरा—१ मा पराजित हुन पुग्यो । काँग्रेस महामन्त्रीद्वय गगनकुमा थापा र विश्वप्रकाश शर्माको गृह नगरमा पनि उनको दलले पराजय भोग्नुप¥यो । उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरमा पनि कांग्रेसले प्रमुखमा जित हासिल गर्न सकेन । यसैगरी केन्द्रीय सदस्य भई धनगढी उपमहानगरपालिकामा उम्मेदवार बनेका नृपबहादुर वड समेत स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित बन्न पुगे ।

काँग्रेस नेता अर्जुननरसिंह के.सी.ले पनि नुवाकोटबाट आफ्नो नगर क्षेत्रमा काँग्रेसलाई जिताउन सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकामा काँग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई जिताएर आफ्नो लाज ढाके ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जन्मस्थान दार्चुलामा काँग्रेस शून्यको अवस्थामा पुग्यो । काँग्रेस नेता गोपालमान श्रेष्ठको क्षेत्र मानिने स्याङ्जाको वालिङ नगरपालिका काँग्रेसको गढ भएर पनि सुरक्षित बन्न सकेन । यता, राष्ट्रिय राजनीतिबाट खुम्चिँदै जिल्लामा झरेका पूर्वउपसभापति विमलेन्द्र निधिले स्वतन्त्र उम्मेदवार मनोज साह सुडीलाई जनकपुर उमहानगरपालिकाको प्रमुखमा जिताएर धनुषाबाट नाक जोगाउन सफल भएका छन् । साहले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।

काँग्रेसको १४ औँ महाधिवेशनमा दोस्रो चरणमा सभापति देउवालाई समर्थन गरेका नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहले काठमाडौँ महागनरपालिकाको प्रमुखमा टिकट पाएर चुनाव लड्दा दोस्रो स्थानमा रहेकी छिन् । श्रीमतीकै कारण नेता सिंहको राजनीति संकटमा परेको जानकारहरुले बताएका छन् । सिंह र निधि दुवैजनाले काँग्रेसको १४ औँ महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए । निधिले धनुषाबाट आगामी निर्वाचन जित्न सक्ने आँकलन गरिए पनि सिंहलाई काठमाडौँ क्षेत्र नं.१ फलामको च्युरा बन्ने काँग्रेसीहरुको तर्क छ । आगामी संसदीय निर्वाचनमा पनि परिवारवादमा गए काँग्रेसलाई झड्का लाग्ने बताइएको छ । काँग्रेस नेतृत्वले बेलैमा यो कुरा सोचेर ‘हाम्रालाई भन्दा राम्रालाई’ टिकट दिनुपर्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *