गठबन्धन भत्काउन नारायणकाजी सक्रिय

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ ‘खोलो तरेपछि लौरो मिल्काउने’ प्रवृत्तिका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय गठबन्धन भत्काउन राजनीतिक दौडधूपलाई तीव्र बनाएका छन् ।
गठबन्धन भत्काउन नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली सक्रिय रहेकै अवस्थामा श्रेष्ठले गत जेठ २९ गते साँझ ओली निवास बालकोट पुगेर दुई घण्टा लामो छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेता श्रेष्ठले जेठ ३० गते नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जेठ ३१ गते सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरी फेरि वाम गठबन्धनको विषयलाई जोड दिएको बताइएको छ ।
एमसीसीको उग्रविरोधीका रुपमा चिनिएका श्रेष्ठ अनुमोदन गर्ने दलको निर्णयपछि मौन रहेका थिए । विचार र सिद्धान्त मिल्नेहरुसँग गठबन्धन वा एकता हुनुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठसँग नेकपा (एस) का नेता खनालको पनि मन र मत मिल्दछ । राष्ट्रियताको मुद्दामा ओली नेतृत्वको सरकार कमजोर भएको र ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियता जोगाउने सवालमा काँग्रेससँग गठबन्धन गरी मा.के. सरकारमा सहभागी भएको थियो ।
गत स्थानीय निर्वाचनमा गठबन्धनकै कारण एक सय २३ सिट हात पारेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता श्रेष्ठ काँग्रेसको लोकप्रियता र जनलहर देखेर औडाहा बनेका छन् । दाहालभन्दा श्रेष्ठलाई गठबन्धन काउसो बनेको छ । श्रेष्ठलाई दल फुटाएर अध्यक्ष बन्ने र सरकारमा जाने रहरले सताएको माकेका जानकारहरुले बताएका छन् ।
सरकारमा जान नपाएको झोंकमा वाम एकताको राग अलापी अध्यक्ष दाहाललाई दल फुटाउने चेतावनी दिएको स्रोतले बताएको छ । पछिल्लो समय एमसीसी पारित भएपछि एसपीपीले कम्युनिष्टहरुलाई झस्काएको जानकारहरुले बताएका छन् । अमेरिकाको भूमिका बढेको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष एवं सत्तापक्षकै नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आच्छु–आच्छु पारेका छन् ।
बजेट पारित भएपछि गरिने मन्त्रिमण्डल हेरफेरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले वर्षमान पुन र शक्ति बस्नेतलाई सरकारमा पठाउने तयारी थाहा पाएपछि श्रेष्ठको हुटहुटी बढेको छ । गठबन्धनकै कारण राष्ट्रियसभाको सदस्य बनेका श्रेष्ठले आफ्नो औकात थाहा नपाई माकेभित्र अलग समूह बनाए पनि ‘माछो–माछो भ्यागुतो’ मा परिणत हुने जानकारहरुले बताएका छन् ।
त्यसो त अघिल्लो संघीय निर्वाचनमा माओवादी केन्द्र र नेकपा (एमाले) को साझा उम्मेदवारका रुपमा उडे पनि उनी पछारिन पुगेका थिए । निर्वाचनमा पराजय भोगपछि अर्को निर्वाचनसम्म चुप लागेर बस्नुपर्नेमा उनी विना पद एकछिन पनि बस्न नसक्ने भएकै कारण राष्ट्रियसभामा समेत पुगेका छन् । खासै जनाधार नभएका श्रेष्ठलाई अघिल्लो निर्वाचनमा एमालेले बोक्दा समेत पराजित भएको अवस्थामा फेरि पनि एमालेकै साथ खोज्दै हिंडेको देख्नेहरु उनमा फेरि कसरी मन्त्री बन्ने भन्ने कुराले घेरेको भनी टिप्पणी गर्न थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *