बैंकहरुका शौचालय सार्वजनिक गरिनु उचित

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
काठमाडौं महानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण भएको सकस मेट्नका लागि महानगरपालिकाले थालेको आव्हानलाई सकारात्मक रुपमा लिन थालिएको छ । यसैक्रममा कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरुका शौचालयहरुलाई सार्वजनिक शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको आठवटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भनी काठमाडौँ महानगरपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गरेपछि त्यसले आधिकारिकता पाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि ऐक्यबद्धता जनाएको बताएका छन् ।
त्यसो त महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले आफ्ना शौचालयहरु सार्वजनिक रूपमा प्रयोग गर्न दिनलाई आव्हान गरेको थियो । त्यसका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको अवस्थामा कामना सेवा विकास बैंकलगायतका अन्य केही बैंकहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नबिल बैंक तथा केही रेष्टुरेन्टहरुले समेत आफ्ना शौचालयहरुलाई सार्वजनिक प्रयोगका लागि भनी घोषणा गरेका छन् । पछिल्लो जानकारी अनुसार ३३ संस्थाहरुले यस्ते सम्झौता गरेका छन् । ती संस्थाहरुसँग आवद्ध भएका विभिन्न दुई सय पच्चीस वटा स्थानका शौचालयहरु सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न मिल्ने बताइएको छ । सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस्ता संस्थाहरुले स्वयम् गर्ने भनी जनाएका छन् ।
महानगरपालिकाले सात दिनको समय दिए पनि यो कार्य सकारात्मक रहेकाले यसलाई निरन्तरता दिनु उचित देखिन्छ । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयहरु पर्याप्त मात्रामा नभएका कारण सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । सोही कुरालाई मनन् गरी काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र (वालेन) साहले त्यस्तो आव्हान गरेका थिए । काठमाडौंमा रहेका विभिन्न बैंक, वित्तीय संस्था, रेष्टुरेन्ट तथा अन्य निकायले पनि आफ्ना शौचालयहरु सार्वजनिक प्रयोगका लागि घोषणा गरेको अवस्थामा यसले सर्वसाधारणलाई सहज बनाउने देखिन्छ । यसैगरी काठमाडौंमा सवारी साधन राख्ने ठाउँ (पार्किङ) को समेत समस्या छ । त्यसैले यसतर्फ पनि यस्ता निकायहरुले आफ्नोमा ठाउँ भएसम्म पार्किङ गर्न पाउने व्यवस्था मिलाइदिएका खण्डमा त्यसले काठमाडौंको सवारी व्यवस्थापनमा धेरै नै सहयोग पुग्ने देखिन्छ । सार्वजनिक शौचालय घोषणा गरी साधुवादका पात्र बनेका निकाय, संघसंस्थाहरु जस्तै पार्किङका लागि पनि खुला गरिने व्यवस्था भएमा त्यसले काठमाडौंलाई व्यवस्थित शहरको रुपमा विकास गर्न मद्दत पु¥याउने देखिन्छ । पछिल्लो समयमा सार्वजनिक भएको वातावरणीय अवस्थालाई ख्याल गर्ने हो भने काठमाडौं विश्वकै दोस्रो प्रद्रषित शहरमा परेको अवस्था छ । यस्तो स्थितिबाट मुक्ति दिलाउनका लागि महानगरपालिका मात्र उत्तरदायी नहुने भन्ने ठानी सबै निकायले आफ्नो तर्फबाट पहल गरेमा काठमाडौंको उक्त दाग पनि क्रमशः मेटिंदै जाने अवस्था आउन सक्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *