राष्ट्रपति पदको गरिमा राख

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा पदासिन भएका छन् । २०७९ साल फागुनको २५ गते भएको निर्वाचनमा राष्ट्रपतिमा उनले जित हासिल गरेका थिए । उनको औपचारिक रुपमा शपथ ग्रहण भने फागुनको २९ गते भएको हो । उनको पदासिनसँगै विद्यादेवी भण्डारी निवर्तमान राष्ट्रपतिको रुपमा रहन पुगेकी छन् । नेपालको राजनीतिक इतिहासमा लामो समय राजनीतिमा सक्रिय रहेका पौडेल नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकै बखत राष्ट्रपतिमा निर्वाचित बन्न सफल भएका हुन् । राष्ट्रपतिको शपथ ग्रहणअघि भने उनले कांग्रेससँगको सम्पूर्ण जिम्मेदारी तथा दलको सदस्यतालाई विच्छेद गरेका हुन् । राष्ट्रपतिको शपथ लिनुपूर्व उक्त व्यक्तिले कुनै राजनीतिक दलको सदस्यता लिएको रहेछ भने त्यसलाई त्यागी स्वतन्त्रको हैसियतमा रहने परम्परालाई पौडेलले पनि पच्छ्याएका हुन् ।

पौडेलले राष्ट्रपतिमा शपथ ग्रहण गरेसँगै विभिन्न कोणबाट प्रश्नहरु उठेका छन् । पहिलो प्रश्न भनेको उनले हाल आफूलाई स्वतन्त्रको रुपमा रुपान्तरण गरे पनि व्यवहारमा त्यसलाई देखाउन सक्छन् कि सक्दैनन् भन्ने हो । राष्ट्रपति भनेको मुलुकको सर्वोच्च पद हो । पहिलेका राजा बराबरको हैसियत राष्ट्रपतिको हुने हुन्छ । राष्ट्रपति भनेको सबैको साझा हो । यो पद सबैको लागि उच्च सम्मान गर्नुपर्ने पद पनि हो । त्यसमाथि संविधानको पालकको रुपमा समेत राष्ट्रपतिलाई लिने गरिन्छ । संविधानको पालना गर्नु राष्ट्रपतिको पहिलो कर्तव्य पनि हो । त्यसैले उनले आफूलाई स्वतन्त्रको हैसियतमा व्यवहारमै राख्न सके मात्र त्यसले उनलाई सबैको साझाको हैसियतमा राख्न सहयोग पु¥याउने हुन्छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई स्वतन्त्र भन्दा पनि नेकपा (एमाले) को नेताको हैसियतमा कार्य गरेको भनी उनको चर्को विवाद आएको थियो । त्यो कुरालाई नयाँ राष्ट्रपति पौडेलले ख्याल गरी आफूलाई स्वतन्त्र रुपमा देखाउन सक्नुपर्ने हुन्छ ।

यसैगरी नयाँ राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीका विवादास्पद कार्यहरुबाट पाठ सिक्नुपर्ने देखिन्छ । भण्डारी राष्ट्रपति रहँदा कतिपय अवस्थामा नेपालको संविधानले अधिकारको दुरुपयोग गरेको, संविधानप्रदत्त कार्यहरु नगरेको जस्ता कुरा विवादमा आएका थिए । भोलिका दिनमा राष्ट्रपति पौडेलले पनि यो कुरालाई हेक्का राखी अघि बढ्नु उचित हुन्छ ।

आम जनतासँग जोडिएको एउटा पाटोमा सुधार हुने अपेक्षा नेपालीजनले गरेका छन् । यसमा प्रमुख कुरा भनेको राष्ट्रपति जनमुखी हुनु प¥यो भन्ने हो । राजा महाराजाहरुले जस्तो व्यवहार राष्ट्रपतिले गर्नु हुँदैन भन्ने कुरामा जनताको चासो बढी छ । राष्ट्रपतिको सवारी हुँदा बाटो खाली गराउने नाममा जनतामाथि सास्ती खेपाउने प्रवृत्ति बढेको भनी जनगुनासो रहँदै आएको छ । काठमाडौंमा सवारी चलाउँदा प्रधानमन्त्रीको जस्तो एकछिनलाई बाटो खाली बनाई कुदाइहाल्ने नीति अवलम्वन गरिनु पर्दछ । यसैगरी कतिपय अवस्थामा जनतालाई सास्ती दिनुभन्दा हेलिकोप्टरको प्रयोग गरिनु उचित हुने देखिन्छ । यसैगरी विभिन्न सांस्कृतिक समारोह जहाँ राष्ट्रपतिको उपस्थिति वा सहभागिता जरुरी हुन्छ त्यस्ता कार्यक्रममा जाँदा पौडेलले तामझाम आदिबाट मुक्त हुन सक्नुपर्दछ । यस्तै, सल्लाहकारहरुको अनावश्यक भीड बनाउने, सचिवालयहरुमा नातागोलाको बाहुल्यता बनाउने जस्ता कार्यहरुबाट पौडेल मुक्त भएका खण्डमा मात्र नयाँ इतिहास बनाउन उनी सफल होलान् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *