जनताको स्वास्थ्यलाई प्रविधिसँग जोड

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
नेपालका अस्पतालहरु पनि आधुनिक अवस्थामा सञ्चालनमा आउन थालेका छन् । सामाजिक सुरक्षा कोषले २६ वटा अस्पतालहरुबाट ‘स्वचालित विद्युतीय प्रणाली’ मा आधारित स्वास्थ्य सेवा शुरु गरेपछि आधुनिकता जनस्तरमा पुगेको हो । उक्त सेवाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार शुभारम्भ गर्दै मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए । कोषसँग एक सय २६ अस्पतालहरूले एमओयू गरेको भए पनि हाल २६ वटा अस्पतालबाट ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा शुरु गरिएको कोषले जनाएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा बापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना बापतको सुविधा लिँदा शतप्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने व्यवस्था मिलाइएको पनि जनाइएको छ ।
यो प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने विश्वास लिइएको छ । कोषले सञ्चालन गर्ने सुविधाहरूमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू रहेका पनि जनाइएको छ । यसैगरी योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गई प्राप्त गर्न सकिने कोषले जनाएको छ । यो सुविधा अनलाइन प्रणाली जडान भएका अस्पतालहरूमध्ये मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पिटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टरमा उपलब्ध हुने जनाइएको छ । यसैगरी मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोबेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टरबाट यो सुविधा पाइने जनाएको छ । यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत यो सुविधा लिन पाइने भनी कोषले जनाएको छ ।
अस्पतालजस्तो विशुद्ध जनतासँग जोडिएको क्षेत्रबाट पाइने सेवा सुविधाको लागि सरकारी तवरबाट विभिन्न किसिमका योजनाहरु ल्याइनु जरुरी छ । जनताको शिक्षा र स्वास्थ्यको कुरामा सरकारको प्रमुख दायित्व हुुने कुरालाई नेपाल सरकारले पनि समयमै महसुस गरी विभिन्न किसिमका सुविधायुक्त योजनाहरु ल्याउनु जरुरी छ । जनताको स्वास्थ्य राम्रो भएमा मात्र सरकारको अवस्था पनि राम्रो हुन सक्ने हुन्छ । त्यसैले कुनै पनि स्वास्थ्य निकायहरुबाट वितरण हुने सेवा, सुविधालाई सरकारले जनताको पहूँचमा पु¥याउनका लागि आधुनिक प्रविधिलाई आत्मसात गर्न सक्नुपर्ने हुन्छ । त्यसो गरिएका खण्डमा मात्र जनताले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य निकायहरुबाट लाभ लिन सक्ने अवस्था रहन्छ । सेवा उपलब्ध भएर मात्र हुँदैन त्यसको प्रयोग पनि हुन पाउनुपर्ने हुन्छ । सरकारले विश्वव्यापी रुपमा छाएको आधुनिक प्रविधिलाई नेपाली जनताका लागि पनि उपयोगी हुने गरी यस्ता प्रविधिहरुलाई जनताका पक्षमा जोड्दै जानुपर्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *