‘चलचित्र र क्यानभास’ विषयमा अन्तक्रिया

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, चलचित्रकर्मी नीर शाह रहेका थिए । कार्यक्रममा अतिथिको रुपमा निर्देशक छिरिङ रितार शेर्पा, चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष तथा सम्पादक, निर्देशक रक्षा सिंह राणा, कलरिष्ट कपिल पराजुली, कला निर्देशक निर्जल श्रेष्ठ, कलाकार अशोकमान सिंह लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गरे । उनले भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ । यसमा त्यति बहस भएको देखिन्न । त्यसैलाई सम्बोधन गर्न हामीले यस कार्यक्रम गरेका हौं ।’ उनले आगामी दिनमा चलचित्रमा ललितकलाका विषयलाई पनि समेट्न आग्रह गरे ।
नेपाल चलचित्र तथा र्सास्कृतिक प्रतिष्ठानका अध्यक्ष के.पी. पाठकले चलचित्रलाई अलिकति फराकिलो दायरामा लैजाने उद्देश्यले गरेको जानकारी गराए । उनले चलचित्रले सम्पूर्ण विधालाई समेट्न सक्छ । त्यसलाई प्रस्तुत गर्न सक्छ । वास्तु, रंग, कला इत्यादिमार्फत हामी ललितकलासँग जोडिएका हुन्छौं । त्यसलाई बुझेर प्रयोग गर्न सके चलचित्र अझ मजबुत बनाउन सकिन्छ कि !’
छायाकार दीपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताए । उनले ‘कलर हार्मोनीमा हामीले काम गर्न सकेका छैनौं । कलर हार्मोनीको बारेमा बुझ्न कलर थ्योरीको बारेमा जान्नुपर्ने हुन्छ । कलर, कलर टेम्प्रेचर के हो भनेर चलचित्र निर्माताहरुले बुझ्नुपर्छ ।’
चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताउँदै ‘आर्टिस्टले क्यानभासमा जे गर्नुहुन्छ । चलचित्रमा गर्ने त्यहि नै हो । माध्यम मात्र फरक हो ।’
कलाकार अशोकमान सिंहले रंग आफैंमा संवेदनशील हुने बताए । उनले हरेक रंगले जीवनमा प्रभाव पारिरहेको धारणा राखे । चलचित्रमा प्रयोग गर्ने रंग र कलामा प्रयोग गर्ने रंग फरक हुने उनको धारणा थियो ।
यसैगरी रंग संयोजक कपिल पराजुलीले इलेक्ट्रीकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा गाह्रो हुने गरेको धारणा राखे । उनले ‘चित्रकलालाई नांगो आँखाले हेर्न सक्छौं तर चलचित्र त्यस्तो होइन । चित्रकलामा राम्रो गर्न सक्छौं । चलचित्रमा कम्प्रोमाइज हुन्छ ।’ भने ।
कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै चलचित्र भएको बताए । उनले ‘क्यानभास चल्दैन, चलचित्र चल्छ । क्यानभासले मुलुकको वैभवता, सभ्याता र संस्कृति देखाउँछ ।’ निर्देशक छिरिङ रितार शेर्पाले चलचित्रमा लिबर्टी धेरै हुने र क्यानभासमा लिमिटेसन हुने धारणा राखे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने बताइन् । उनले भनिन्, ‘एउटा कलाले जिन्दगी बताउन सक्छ । हेर्ने नजर चाहिन्छ ।’ प्रतिष्ठानले राम्रो विषयको उठान गरेको भन्दै उनले आगामी दिनमा पनि यस्ता विषयमा छलफल गर्न जरुरी भएको धारणा राखिन् ।
चलचित्रकर्मी नीर शाहले क्यानभास आफैंमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताए । उनले ‘त्यसको प्रारम्भिक स्वरुप सेतो हुन्छ । त्यहाँ जसले जे गर्दा पनि हुन्छ । जुन पेन्टिङलाई तपाईहरु अमूर्त भन्नुहुन्छ त्यसको पराकाष्टा नै क्यानभास हो । क्यानभासमा रंग हुँदैन तर क्यानभासमा रंग हुन्छ । रंगविहीन हुनु पनि एउटा रंग हो ।’ प्रत्येक रंगको एक किसिमको प्रतीकात्मक बुझाइ हुने भन्दै उनले चलचित्रकर्मीले रंगलाई कोरा रंगकै रुपमा मात्र बुझ्न नहुने धारणा राखे ।
सिनेमा र रंगबीच प्रगाढ सम्बन्ध रहेको उनको भनाइ छ । ‘प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो चलचित्र बन्छ’, उनले थपे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रममा पावर प्वाइन्ट प्रिजेन्टेसनमार्फत ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राखे । उनले यस कार्यक्रमपछि आफू पुनः जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताए ।
उपकुपलति लालकाजी लामाले चलचित्र र क्यानभास अर्थात् ललितकला दुवै अभिव्यक्तिको माध्यम भएको बताए । उनले ‘चित्र सार हो, चलचित्र विस्तार हो । सारभित्र पनि विस्तार हुन्छ ।’ भन्ने धारणा राखे ।
कार्यक्रमको खुल्ला सत्रमा प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र संगी श्रेष्ठले पनि चलचित्र र ललितकलाको विषयमा आफ्नो धारणा राखे । सुन्दर सिंख्वालले प्रविधि नै नभएको बेला पूर्खाहरुले बनाएका पौभा लगायतका कलाकृति पनि चलचित्र नै भएको बताए । संगी श्रेष्ठले चित्रकला र चलचित्र दुवै कला नै भएको बताए ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के.पी. पाठकले कार्यक्रम समापन गर्दै आगामी दिनमा पनि यस विषयमा बहस गर्ने बताए । उनले ‘तपाईहरु क्यानभासमा रंग भर्नुहुन्छ । हामी दृश्यलाई पर्दामा देखाउँछौं ।’ भने भने कार्यक्रमको सञ्चालन भने यादवकुमार भट्टराईले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *